नेपालमा प्राविधिक शिक्षाको विकासका लागि संस्थागत रूपमा पहल गरिएको तीन दशकभन्दा धेरै भइसकेको छ । २०४५ सालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीको स्थापनासँगै औपचारिक रूपमा प्राविधिक शिक्षाको सूत्रपात भएको हो । योभन्दा अघि पनि प्राविधिक शिक्षाको विकासका लागि केही प्रयास भए तर त्यो सार्थक हुन सकिरहेको थिएन । निम्न र मध्यमस्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको सिटिइभिटीले “सिपयुक्त जनशक्ति, समृद्ध नेपाल’ को नारालाई सार्थक बनाउन देशका विभिन्न भागमा प्राविधिक शिक्षालय स्थापना गरिरहेको छ । छोटो अवधिको तालिमदेखि डिप्लोमा तहसम्मका कार्यक्रम सञ्चालनमा यस संस्थाले निकै नै अहम् भूमिका निर्वाह गरिरहेको छ ।
सिटिइभिटीले भर्खरै प्रकाशन गरेको तथ्याङ्क अनुसार विभिन्न छोटो अवधिको तालिममा प्रथम तह उत्तीर्ण गर्ने विद्यार्थीको सङ्ख्या पाँच लाख ११ हजार ५६६ रहेको छ । यो जनशक्तिले नेपालका साथै वैदेशिक रोजगारीमा पनि सिपमूलक कार्य गरिरहेको छ । यसै गरी प्रिडिप्लोमा तह उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या दुई लाख ८० हजार १५० रहेको छ । सिटिइभिटीले सञ्चालन गर्ने सबैभन्दा उच्च तहको कार्यक्रम अर्थात् डिप्लोमा तहमा एक लाख ८२ हजार ४५७ जनाले उत्तीर्ण गरेका छन् । नेपाल जस्तो देशमा माथि उल्लिखित सङ्ख्यामा प्राविधिक जनशक्ति उत्पादन हुन आफैँमा निकै महìवपूर्ण कुरा हो । जसरी यस संस्थाले जनशक्ति उत्पादनमा महत्वपूर्ण कार्य गरिरहेको छ, त्यसै गरी उत्पादित जनशक्तिलाई कसरी श्रम बजारसँग जोड्ने, उत्पादित जनशक्तिले के कसरी काम गरिरहेको छ भन्नेबारे चासो दिनु पर्छ ।
विस्तार र पहुँचमा फड्को
सिटिइभिटी स्थापनादेखि अहिलेको अवस्थासम्म आइपुग्दा प्राविधिक शिक्षामा सबैको पहुँच स्थापना गर्न सक्षम देखिन्छ । प्राविधिक शिक्षा भनेको हुनेखाने कुलीन वर्गको पहुँचमा मात्रै छ भन्ने मान्यतालाई गलत साबित गर्दै हाल यो शिक्षा सामान्य गरिखाने नागरिकका छोरीछोरीले पनि अध्ययन गर्न सक्ने गरी पहुँच स्थापित भएको छ । सातै प्रदेशका अधिकांश स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना भएका छन् । परिषद् अन्तर्गत ६७ वटा आङ्गिक, ५८ वटा साझेदारी, ६३९ टेक्स विद्यालय र ४३९ वटा सम्बन्धन प्राप्त निजी शिक्षण संस्था सञ्चालनमा छन् । मुलुकमा सङ्घीयता आएसँगै प्राविधिक शिक्षालाई सबैतिर व्यापक बनाउने गरी विस्तार गरिएको थियो । शिक्षालय विस्तारको कार्य अवैज्ञानिक भएका कारण केही शिक्षालय नियमित रूपमा सञ्चालन नभए पनि प्राविधिक शिक्षामा सबैको पहुँच स्थापित गर्न यिनले विशेष भूमिका निर्वाह गरेका छन् ।
प्राविधिक शिक्षालाई सबैको पहुँचयोग्य बनाउन सिटिइभिटीले शुल्कमा समेत व्यापक फेरबदल गरेको छ । अहिले सिटिइभिटीमातहतका आङ्गिक कलेजमा स्वास्थ्यलगायतका कार्यक्रममा अध्ययनका लागि एक लाख रुपियाँभन्दा बढी शुल्क तिर्नुपर्दैन । यसका साथै स्थानीय तहले पनि साझेदारीमा सञ्चालन गरेका शिक्षालयले समेत न्यूनतम शुल्कमा अध्यापन गराइरहेका छन् । कानुनले समेत विद्यालय तहको शिक्षा स्थानीय सरकारमातहतमा हस्तान्तरण गरेपछि कैयौँ स्थानीय तहले प्राविधिक शिक्षालय सञ्चालन गरिरहेका छन् ।
सुधारको खाँचो
सिटिइभिटीले प्राविधिक शिक्षा प्रदान गर्न थालेको ३७ वर्ष पूरा भएको छ । यसबिचमा प्राविधिक शिक्षाको स्वरूप र संरचनामा व्यापक परिवर्तन भइसकेको छ । तथापि केही समययता विद्यार्थी भर्ना दरमा भएको गिरावटले भने आत्मासमीक्षा गर्नुपर्ने अवस्था सिर्जना भएको छ । पर्याप्त जनशक्ति र आवश्यक पूर्वाधारको अध्ययन नै नगरी शिक्षालयको सम्बन्धन अन्धाधुन्द बाँडेपछि यसको गुणस्तरमा ह्रास आएको गुनासो व्यापक छ । धेरै जसो निजी र केही सरकारी शिक्षालयमा पनि पर्याप्त पूर्वाधार र आधुनिक प्रविधिको अभाव छ । अझै पनि बर्सौं पुरानो उपकरणमा विद्यार्थीलाई अभ्यास गराइरहेका छौँ, जबकी विश्व कृत्रिम बुद्धि र स्वचालनमा पुगिसक्यो । समयानुकूल परिवर्तन हुने प्रविधिलाई पाठ्यक्रमले समेत सम्बोधन गर्न सकेको छैन । विश्वविद्यालयले कृत्रिम बुद्धिबारे अध्यापन गराउन थालिसके । त्यसैले प्राविधिक शिक्षा अध्ययन गराउने संस्थाले आफ्ना कार्यक्रममा यस खालका विषय समावेश गर्न सक्नु पर्छ ।
श्रम बजार र विद्यार्थीका बिचमा तादात्म्यता मिलाउनु सिटिइभिटीका लागि अर्को चुनौती बनेको छ । एकातिर उद्योगहरूले आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न सकेको छैन, अर्कातिर उत्पादित जनशक्तिले रोजगारी पनि पाएको छैन । यसबाट उद्योग र प्राविधिक शिक्षाका बिचमा खाडल रहेको देखाउँछ । केही समयदेखि उद्योग र प्राविधिक शिक्षाबिचको दुरीलाई घटाउनका लागि औद्योगिक प्रशिक्षार्थी कार्यक्रम लागु गरेको भए पनि डिप्लोमा तहमा यो कार्यक्रम सञ्चालन हुन सकिरहेको छैन ।
अबको बाटो
सिटिइभिटीले प्राविधिक शिक्षाका क्षेत्रमा निर्वाह गरेको भूमिकाबारे गम्भीर आत्मसमीक्षा गरेर नयाँ गन्तव्य निर्धारण गर्नु पर्छ । प्राविधिक शिक्षामा विद्यार्थीको अभिरुचि कमजोर हुनुका आन्तरिक कारणबारे सूक्ष्मतम ढङ्गले केलाउनु पर्छ । विद्यार्थी सङ्ख्या तीव्र गतिमा घट्दै जाँदा पनि सम्बन्धन बाँड्ने कार्यलाई वैज्ञानिक बनाउन नसक्नु यसको ठुलो कमजोरी हो । यसबारे विभिन्न समयमा विभिन्न खालका अध्ययन समिति बनाइए तर ठोस निचोड आउन सकेन । सम्बन्धन बाँड्ने मात्र नभई तोकिएको गुणस्तर कायम गर्न नसके शिक्षालयलाई कारबाही गर्ने साहस परिषद्ले देखाउनु पर्छ ।
अर्को विषय भनेको पाठ्यक्रममा समयानुकूल फेरबदल हो । समयको माग र बदलाबसँगै पाठ्यक्रमलाई परिवर्तन गर्नमा सिटिइभिटीले अहम् भूमिका निर्वाह गर्नु पर्छ । पुरानो पाठ्यक्रमले नयाँ श्रम बजारलाई सम्बोधन गर्न सक्दैन । सिटिइभिटीले केवल ‘नोकरी गर्ने’ जनशक्ति मात्र होइन, ‘नोकरी दिने’ उद्यमी उत्पादन गर्ने लक्ष्य राख्नु पर्छ । उद्यमशीलतालाई प्रवर्धन कसरी गर्न सकिन्छ भन्नेबारे सिटिइभिटीले विशेष योजना निर्माण गर्नु अहिलेको आवश्यकता हो ।
सिटिइभिटी नेपालको आर्थिक रूपान्तरणको एउटा बलियो इन्जिन हो तर यो इन्जिनलाई समय समयमा ‘सर्भिसिङ’ र ‘अपग्रेड’ गर्न जरुरी छ । वार्षिकोत्सव मनाउँदै गर्दा भवन र भाषणमा मात्र नभई, विद्यार्थीको हातको सिप र उसको भविष्यको सुनिश्चितमा उत्सव देखिनु पर्छ । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको विकास तथा विस्तार, समतामूलक पहुँच, गुणस्तरको प्रत्याभूति, श्रम बजारको माग र पाठ्यक्रम विकास तथा परिमार्जन, सिपको स्तर निर्धारण एवं प्रमाणीकरण, प्रशिक्षकको क्षमता विकास, अध्ययन तथा अनुसन्धान, अनुगमन तथा मूल्याङ्कन र सरोकारवालासँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नमा सिटिइभिटीले आफूलाई केन्द्रित गर्नु पर्छ ।