काठमाडौँ, फागुन १२ गते । ललितकला क्याम्पसमा स्नातक अध्ययनकै बेलाका साथी हुनुहुन्छ, आर्या राजभण्डारी, चाँदनी बज्राचार्य र रेनुका महर्जन । त्यतिबेलै अर्थात् सन् २००२ मा कलाका तीन विद्यार्थीले थाल्नुभएको हो, पेटल्स शीर्षकको कला प्रदर्शनी ।
तीन कलाकारले आफ्नो कला दृष्टिकोण र कला अनुराग, आशक्तिलाई एउटै मञ्चमा अझ त्यसमा पनि चित्र र मूर्तिका माध्यमबाट अभिव्यक्ति गर्ने लक्ष्य राखे । त्यहि सिलसिला र शृङ्लाका रुपमा पाँचौ सामुहिक चित्रकला प्रदर्शनी ‘कम्बिनेसन’ नेपाल आर्ट काउन्सिलमा भइरहेको छ ।
प्रदर्शनीमा तीन युवा महिला कलाकारका तीन आयाम देख्न सकिन्छ । चित्र र मूर्ति शृङ्खलामा । खासगरी आर्याले मन्दिरका टुँडालको शृङ्खलामा नेपाली मठ, मन्दिर र सम्पदालाई उतार्नुभएको छ । अर्धमूर्त शैली पछ्याउँदै आर्याले आफ्ना टुँडाल शृङ्खलामा लोककलाको शैलीलाई समेत पछ्याउनुभएको छ । प्रदर्शनीमा आर्याका २६ चित्रकला राखिएका छन् ।

आर्याले आफ्ना टुँडाल शृङ्खलामा गणेशको मुकुटलाई समेत प्रयोग गरी कलामा नयाँपन दिन खोज्नुभएको छ । कलाकार आर्या भन्नुहुन्छ, “मेरा कलाका फर्महरु केही परिवर्तन हुँदै गएका छन् । त्यहि सिलसिलामा टुँडाल शृङ्खला जन्मिएको हो । काष्ठकलालाई क्यानभासमा ल्याइरहँदा त्यसका केही आकार, भावको पृष्ठभूमिमा भावना र रङ संयोजन गरेको छु ।”
मूर्तिकार चाँदनीले धार्मिक र सांस्कृतिक सम्पदालाई मूर्तिको फर्ममा ल्याउनुभएको छ । जहाँ नेवारी लिपिहरु (रञ्जना, भुजिमोल र प्रचलित नेवा लिपि) मा बौद्ध मन्त्र र श्लोकहरु समेटिएका छन् ।
नेपाली कागज प्रयोग गरी तयार पारिएको मूर्तिमा नेवारी लिपि र बौद्ध मन्त्र तथा श्लोकहरुको प्रयोग नेपाली कलामा एउटा नयाँ शृङ्खला हुनसक्छ । आधुनिक शैलीमा प्रस्तुत मूर्तिमा प्राचीन लिपिको प्रयोगले एउटा गज्जब संयोजन देखिएको पाइन्छ । प्रदर्शनीमा उहाँका आठ स्कप्चर र ११ वटा चरा शृङ्खलाका चित्रकला राखिएका छन् । ३ह३ इन्चका क्यानभासमा बनाइएका चाँदनीका चरा प्रदर्शनीको आकर्षण बन्न पुगेका छन् ।

कलाकार रेनुका महर्जनका चित्रले प्रकृति र सौन्दर्यलाई उजागर गरेका छन् । बौद्ध दर्शनबाट समेत प्रभावित रेनुकाले चार अवलोकेश्वरलाई क्यानभासा उतार्नुभएको छ । बौद्ध दर्शनमा करुणाको खानीका रुपमा अवलोकेश्वरलाई लिइन्छ । रेनुकाका २२ कलाकृतिमध्ये बढीजसोचाहिँ फूलका भाव, रङ, सौन्दर्यतालाई प्रस्तुत गर्नुभएको छ । यथार्थवादी कलाधारलाई पछ्याउँदै कलाकार रेनुकाले फूललाई जीवन र भावनासँग संयोजन गर्नुभ
को छ । उहाँ भन्नुहुन्छ, “फूल जीवन हो । भावना हो । उतारचढावले भरिएको जीवन शब्दमा व्यक्त गर्न असम्भव छ ।”
कलाकार रेनुकाले जीवनका उतारचढाव र भावनाहरु अभिव्यक्त गर्न फूलका सौन्दर्य र रङ संयोजन गर्नुभएको छ । उहाँका रङहरुले क्यानभासमा न्यानो र शीतल प्रदान गरेको छ । क्यानभासमा जीवन र जगतको रङ खोज्ने यी तीन कलाकारको तीन दिने प्रदर्शनी ‘कम्बिनेसन’ मङ्गलबारसम्म सञ्चालन हुने जनाइएको छ ।

