बबई समाचारदाता
बबई (बर्दिया), फागुन १२ गते । निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू फेरि एक पटक रासायनिक मल कारखाना सञ्चालन र कृषकलाई सहज रूपमा मल उपलब्ध गराउने प्रतिबद्धता दोहो¥याइरहेका छन् । विगतका निर्वाचनमा गरिएका यस्तै वाचा कार्यान्वयनमा नआएकाले दोहोरिएका प्रतिबद्धता तथा घोषणाप्रति बर्दियाका कृषक भने आशावादी छैनन् ।
स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका हरेक चरणमा दलले रासायनिक मल उत्पादन र आपूर्ति व्यवस्थापनलाई प्रमुख एजेन्डा बनाउँदै आएका छन् । कृषकका अनुसार चुनावपछि ती प्रतिबद्धता कागजमै सीमित हुने गरेका छन् ।
यतिबेला जिल्लामा गहुँबाली हरियो देखिए पनि समयमै मल नपाए उत्पादन घट्ने चिन्ता कृषकमा छ । निर्वाचन प्रचारप्रसार तीव्र बन्दै जाँदा ग्रामीण भेगका किसान भने खेतबारीमा मलको जोहो गर्न व्यस्त छन् । उनीहरूका लागि निर्वाचनभन्दा पनि बाली जोगाउनु ठुलो प्राथमिकता बनेको छ ।गुलरिया नगरपालिका–४, सुहेलवाका कृषक पप्पु पठानले भन्नुभयो, “निर्वाचन त आउँछ, जान्छ तर कृषकको समस्या जहाँको त्यहीँ छ । समयमै मल पाइयो भने मात्रै हामीलाई राहत मिल्छ ।”
यस्तै बारबर्दिया नगरपालिका–४, पदनाहका कृषक नवीन चौधरीले मल खोज्न नेपाल–भारत सीमावर्ती क्षेत्रसम्म जानुपर्ने बाध्यता सुनाउनुभयो । “साइकलमा २० किलोमिटर टाढा गएर एक बोरा युरिया ल्याउनु पर्छ । निर्वाचित भएपछि कसैले पनि हाम्रो समस्या सम्झँदैन,” उहाँले गुनासो गर्नुभयो ।
बढैयाताल गाउँपालिका–८, शीतला बजारकी करुणा चापागाईंका अनुसार समस्या केवल मल अभावमा मात्र सीमित छैन । “मल नपाउँदा उत्पादन घट्छ, उत्पादन भए पनि उचित मूल्य पाइँदैन । किसान दोहोरो मारमा परेका छन्,” उहाँले भन्नुभयो । बर्दियाका धेरै कृषक दिनभर साइकल चढेर सीमावर्ती भारतीय बजारमा मल खोज्न जान बाध्य छन् । खेतमा मल नहाले उत्पादन नहुने र उत्पादन नहुँदा वर्षभरको गुजारा नै कठिन हुने उनीहरूको भनाइ छ ।
राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्रमा रासायनिक मल आपूर्ति सहज बनाउने, स्वदेशमै मल कारखाना स्थापना गर्ने जस्ता योजना अघि सारे पनि कार्यान्वयनको अभावमा ती प्रतिबद्धता विश्वसनीय बन्न सकेका छैनन् । कृषक भने यस पटकका उम्मेदवारले प्रतिबद्धता मात्रै होइन, व्यवहारमै परिणाम देखाउने अपेक्षा गरेका छन् ।