• १२ फागुन २०८२, मङ्गलबार

बुटवललाई आर्थिक राजधानी बनाउने प्रतिबद्धता

blog

बुटवल समाचारदाता

बुटवल, फागुन १२ गते । बुटवलबाट प्रदेश राजधानी दाङ सरेपछि सुस्ताएको बुटवलको व्यापार विस्तार गर्दै बुटवललाई आर्थिक राजधानी बनाउने प्रतिबद्धता उम्मेदवारले व्यक्त गरेका छन् । 

बुटवल रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ मा पर्दछ । यही क्षेत्रबाट पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल नेकपा (एमाले) का तर्फबाट चुनावी मैदानमा हुनुहुन्छ । उता नेपाली कांग्रेसबाट व्यावसायिक घरानाका चुन्नप्रसाद पौडेलसमेत चुनावी मैदानमा हुनुहुन्छ भने रास्वपाले अधिवक्ता सुलभ खरेललाई उम्मेदवार बनाएको छ । 

उता नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका स्वकीय सचिव रहिसकेका सुवास पाण्डे (विश्वदीप) पनि यही क्षेत्रमा उम्मेदवार हुनुहुन्छ । यो निर्वाचनमा यी चारै दल प्रतिस्पर्धामा छन् । 

यी चारै दलका उम्मेदवारले बुटवललाई प्रदेशको आर्थिक राजधानी बनाउने भन्दै अहिले घरदैलो गरिरहेका छन् । पूर्वअर्थमन्त्री पौडेलले बुटवललाई प्रदेशको आर्थिक राजधानी बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 

उहाँले बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको निर्माणको काम अघि बढाउने र त्यहाँबाट पाँच हजारले रोजगारी पाउने बताउँदै बुटवल औद्योगिक क्षेत्रको क्षमता विस्तार गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

त्यसै गरी बुटवलको अमरपथ, ट्राफिक चोक, गोलपार्कलगायत बजारक्षेत्रलाई आधुनिक पूर्वाधारसहित आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गरिने पौडेलले बताउनुभएको छ । बुटवलको मैनाबगर अटो भिलेज र नयाँगाउँको ट्रान्सपोर्ट भिलेज पनि पौडेलको चुनावी प्रतिबद्धतामा समेटिएको छ । 

उता नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेलले आफ्नो उद्योगबाट मात्रै पाँच हजारले रोजगारी पाएको बताउँदै अब आफ्नो ध्यान बुटवलको बजारलाई विस्तार गर्नेतर्फ जाने प्रतिबद्धता जनाउनुभयो । “बुटवलबाट प्रदेश राजधानी दाङ सरेर जाँदा बुटवलको विकासमा ठुलो क्षति पुगेकाले अब भोलिका दिनमा बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने छु,” उहाँले भन्नुभयो । 

पौडेलले बुटवल औद्योगिक क्षेत्रको विस्तार र मोतीपुर औद्योगिक क्षेत्रको शीघ्र सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यी सबै योजनामार्फत बुटवल प्रदेशको आर्थिक राजधानी बन्ने उहाँको दाबी छ । 

उता नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुवास पाण्डे (विश्वदीप) ले बुटवलको व्यापारमा आएको मन्दी अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । पाण्डेले सानाठुला सबै व्यवसायमा सङ्कट देखिएको उल्लेख गर्दै यसको असर केवल व्यवसायीमा नभई समग्र अर्थतन्त्रमा पनि परेकाले समस्या समाधानमा आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । 

रास्वपाबाट रुपन्देही–२ का उम्मेदवार सुलभ खरेलको योजना पनि बुटवलको विकासलाई केन्द्रमा राखेर अघि बढ्ने छ । उहाँले बुटवलको सुस्ताएको बजारलाई विस्तार गरी बुटवललाई यो क्षेत्रको आर्थिक केन्द्र बनाउन लाग्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँको प्रतिबद्धतापत्रमा पनि मोतीपुर औद्योगिक क्षेत्रलाई छिटो निर्माण गर्ने र हजारौँ रोजगारी सिर्जना गर्ने उल्लेख छ ।