गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १२ गते । सर्वसाधारण लगानीकर्तालाई झुक्याएर संस्थापक सेयर बिक्रीवितरण गर्न नदिन दोहोरो ‘आइजिन’ (इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर) लागु गर्न लागिएको सिडिएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ । कम्पनीले सोमबार एक कार्यक्रम आयोजना गर्दै प्रस्तावित अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२ ले अनिवार्य गर्न लागेको दोहोरो ‘आइजिन’ को व्यवस्थाले सबै किसिमका लगानीकर्ता कानुनी रूपमा पनि सुरक्षित हुने दाबी गरेको हो ।
कम्पनीले धितोपत्र बोर्डमा पेस गरेको उक्त निर्देशिकामा सर्वसाधारण र संस्थापकको सेयर छुट्याउनका लागि दुई वटा ‘आइजिन’ प्रयोगमा ल्याउने व्यवस्था गरिएको छ । एउटै ‘आइजिन’ को प्रयोगले सेयरको प्रकृति छुट्याउन नसकिएको र यसले संस्थापकले लक इन अवधि पूरा नहुँदै बिक्री हुने प्रवृत्ति बढ्दा सर्वसाधारण लगानीकर्ता मर्कामा परिरहेको कम्पनीका प्रमुख कार्यकारी प्रवीण पन्दाकले बताउनुभयो । “१५ वर्षअघि नै निर्देशिका बनाएर यस्तो व्यवस्था गर्नुपर्नेमा त्यसो नभएकाले अहिले हामीले निर्देशिका बनाएर बोर्डमा पठाएका छौँ,” उहाँले भन्नुभयो, “यसले सर्वसाधारण लगानीकर्तालाई झुक्याएर सेयर बिक्री गर्न जोगाउँछ ।”
निर्देशिका कार्यान्वयनमा आएपछि कुनै पनि संस्थापक सेयरधनीले सर्वसाधारणमा सेयर रूपान्तरण गर्दा त्यसको सार्वजनिक घोषणाको पनि सुनिश्चितता प्रदान गरेको सिडिएससीले जनाएको छ । वार्षिक साधारण सभाबाट संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गरी एउटै सेयरमा मिसाउने स्वघोषणा गरेमा त्यसलाई विधिपूर्वक मिसाउने व्यवस्था प्रस्तावित निर्देशिकामा छ तर अहिले कतिपय सूचीकृत कम्पनीले सार्वजनिक घोषणाबिना नै संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्ने र कम्पनीको जिम्मेवारीबाट उम्किएर सर्वसाधारणलाई अप्ठ्यारोमा पार्ने अवस्था रहेको प्रमुख कार्यकारी पन्दाकले बताउनुभयो । सिडिएससीको प्रणाली र कानुनी दस्ताबेजमा भएको तथ्याङ्क नमिल्ने गरेकाले विधिपूर्वक मिसाउनुको विकल्प नरहेको उहाँको भनाइ छ ।
मुलुकको दिगो आर्थिक विकास र संस्थापक सेयरधनीलाई भविष्यमा कानुनी झमेलामा पर्न नदिन पनि लकइन अवधिभर सर्वसाधारण सेयरभन्दा फरक ‘आइजिन’ प्रदान गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । त्यसरी ‘आइजिन’ मिसाउँदा पुँजीबजारको आधारभूत सिद्धान्त अनुसार अन्तर्राष्ट्रिय अभ्यासलाई समेत आधार मानेर सार्वजनिक गर्नुपर्ने प्रस्ताव निर्देशिकामा राखिएको कम्पनीले उल्लेख गरेको छ ।
सिडिएससीले विभिन्न समयका कानुनी निर्देशनका आधारमा पनि यो निर्देशिका कार्यान्वयन गर्नु अपरिहार्य रहेको जनाएको छ । प्रबन्धपत्र तथा नियमावली तथा धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३; अर्थ मन्त्रालयको २०६४ चैत ६ गते जारी भएको परिपत्र तथा कम्पनी ऐनको दफा ६६, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्रसमेतका आधारमा निर्देशिका लागु हुनु विधिसम्मत रहेको सिडिएससीको जिकिर छ । त्यस्तै कम्पनीले निर्देशिकाले लगानीकर्ताको कानुनी र आर्थिक अधिकार हनन नगरेको स्पष्ट पारेको छ । त्यस्तै निर्देशिकाले सम्पूर्ण सूचीकृत कम्पनीलाई समान व्यवहार गर्ने सुनिश्चितता प्रदान गरेको कम्पनीले जनाएको छ । “निर्देशिकाले संस्थापक सेयरलाई एउटै ‘आइजिन’ देला कि दुई वटा देला भन्ने त्रास अन्त्य गरेको छ,” प्रमुख कार्यकारी पन्दाकले भन्नुभयो । उहाँका अनुसार संस्थापक सेयरलाई एउटै ‘आइजिन’ मा मिसाउन कुनै शुल्क लाग्दैन । ‘आइजिन’ १२ अङ्कको एउटा कोड हो, जसले सेयर लगानीकर्ताको पहिचान गर्न सहयोग पुग्छ । यो अन्तर्राष्ट्रिय मापदण्डबमोजिम नै हुने गर्छ ।