• १२ फागुन २०८२, मङ्गलबार

जेनजी आन्दोलनका घाइतेको विवरण बुझाउन निर्देशन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १२ गते । अस्पतालले जेनजी आन्दोलनका क्रममा घाइते भएकाको विवरण अझै बुझाउन सकेका छैनन् । 

अस्पतालले घाइतेको विवरण उपलब्ध नगराएपछि स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाको विवरण उपलब्ध गराउन अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जेनजी आन्दोलनका क्रममा छुट भएका घाइतेको विवरण उपलब्ध गराउन सबै स्वास्थ्य संस्थालाई तत्काल स्वास्थ्य मन्त्रालयमा उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिनुभयो । 

प्रवक्ता डा. बुढाथोकीले घाइतेको सूचीकरण र वर्गीकरणका लागि विवरण उपलब्ध गराउन निर्देशन दिएको बताउनुभयो । उहाँले फागुन १ देखि १५ गतेभित्र विवरण उपलब्ध गराउन ताकिता गरिएको बताउनुभयो । उहाँले जेनजी आन्दोलनका घाइतेको उपचार र रातहलाई प्रभावकारी बनाउन गठित समन्वय समितिले फागुन १५ गतेभित्र घाइतेको विवरण उपलब्ध गराउने निर्णय गरे अनुसार मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको बताउनुभयो । फागुन १५ गतेभित्र आएका निवेदनउपर छानबिन गरी घाइतेको अन्तिम नामावली सार्वजनिक गरिने उहाँको भनाइ छ । 

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार अहिलेसम्म २०० जना घाइतेको मात्र वर्गीकरण विवरण उपलब्ध भएको बताउनुभयो । सरकारले जेनजी प्रदर्शनका क्रममा अति गम्भीर वर्गीकरणमा परेकालाई र ती घाइतेलाई स्याहार गर्नेलाई मासिक नौ हजार, गम्भीर घाइतेलाई मासिक नौ हजार र मध्यम घाइतेलाई मासिक चार हजार उपलब्ध गराउने निर्णय गरिसकेको छ ।