गोरखापत्र अनलाइन
दोलखा, फागुन ११ गते। नेकपा (एमाले) दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमै फर्किनुभएको छ । नेतृ कल्पना भण्डारी, भीमेश्वर नगरपालिकाकी पूर्वउपमेयर शान्त बस्नेतसहितका जिल्लाका प्रभावशाली नेता, कार्यकर्तासहित उहाँ सोमबार एमालेमा फर्किनुभएको हो ।
भण्डारी एमाले दोलखाको दुई कार्यकाल पार्टी प्रमुख, पार्टी केन्द्रिय अनुशासन आयोग सदस्य तथा पूर्व जिविस उपसभापति हुनुभएको छ । सोमबार बिहान चरिकोटमा आयोजित पुनर्मिलन कार्यक्रममार्फत् संस्थापक नेता भण्डारीसहितलाई एमाले दोलखाका उम्मेदवार एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टीमा औपचारिक रूपमा स्वागत गर्नुभयो ।
कार्यक्रममा एमाले नेता तथा पुर्वमन्त्री आनन्दप्रसाद पोखरेल, पार्टी दोलखाका संस्थापक नेताद्वय जीतविर लामा र लालकुमार केसी, केन्द्रीय सदस्यहरु रचना खड्का, श्यामकुमार बस्नेतलगायत जिल्लाका अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै नेता भण्डारीले एमालेको सम्पूर्ण शक्ति एकजुट भएर जनतामाझ जाँदा मात्र विजयी हासिल गर्न सकिने बताउनुभयो । उहाँले दोलखामा पार्टीलाई पहिलो शक्ति बनाउन सबै नेता–कार्यकर्तालार्इ समन्वय र सहकार्यसहित सक्रिय बन्न आह्वान गर्नुभयो । ‘अब विभाजन र अन्तर्विरोध होइन, एकताको सन्देश लिएर जनताको घरदैलोमा पुग्नुपर्छ’ उहाँको भनाइ छ।
चार वर्षअघि एमाले विभाजनपछि नेता भण्डारी नेकपा (एकीकृत समाजवादी) मा पोलिटब्युरो सदस्यका रुपमा सक्रिय हुनु भएको थियो । पार्टी महाधिवेशन हुँदा उहाँ घनश्याम भुषाल प्यानलबाट उपमहासचिवको उम्मेद्वार बन्नुभएको थियो ।