• ९ फागुन २०८२, शनिबार

मतदान गर्न सिक्दै बाजुराका मतदाता

blog

मतदातालाई मतदान प्रक्रिया सिकाउँदै मतदाता शिक्षक । तस्बिर सौजन्य : राजबहादुर भण्डारी

शेरबहादुर सार्की
बाजुरा, फाल्गुन ९ गते ।
बाजुराका नौ वटै स्थानीय तहका विभिन्न गाउँबस्तीमा यतिबेला मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा सहज रूपमा मतदान गर्न सकून् भन्ने उद्देश्यले गाउँ–टोलमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

मतदाताले आफूले रोजेको उम्मेदवारलाई सही तरिकाले मतदान गर्न सकून् भन्ने उद्देश्यले गाउँबस्तीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको कार्यालयले जनाएको छ । हिमाली गाउँपालिका–६, धीमकी सुर्जकला रोकायाले मतदाता शिक्षा पाएसँगै आफू ढुक्कका साथ सही तरिकाले मतदान गर्न सक्षम भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसअघि गाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा मतदान गर्न निकै अलमल पथ्र्यो । अहिले मतदाता शिक्षक घरमै आएर मतदान गर्ने तरिका राम्रोसँग सिकाउनुभएको छ ।”

आगामी निर्वाचनमा आफ्नो गाउँको विकास गर्न सक्ने उम्मेदवारलाई ढुक्कका साथ मतदान गर्ने तयारी गरेको रोकायाले बताउनुभयो ।

जिल्लाका प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षक नियुक्त गरी घरदैलो अभियान सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अङ्गत महतले जानकारी दिनुभयो । उहाँका अनुसार मतदाता शिक्षकहरूले गाउँघरमा पुगेर मतदान गर्ने तरिका, मतपत्रमा सही छाप लगाउने विधि, बदर मत हुन नदिन अपनाउनुपर्ने सावधानी तथा मतदान समयबारे जानकारी दिँदै आएका छन् ।

यस कार्यक्रमका कारण मतदातालाई फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न सहज भएको छ । यसपटक जिल्लामा बदर मत कम हुने अपेक्षा गरिएको छ ।

बाजुरामा ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र अन्य दुई जना गरी कुल ८७ हजार ८६१ मतदाता रहेका छन् । मतदानका लागि जिल्लामा ७७ मतदानस्थल र ११८ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।