• ९ फागुन २०८२, शनिबार

पोर्तुगलको पुरानो पुल टेक्दा

blog

लिमा नदीमाथि हालिएको सात सय वर्ष पुरानो पुल ।

शरद ऋतुको पारिलो घाम लागिरहेछ । पोर्तुगलको उत्तरी क्षेत्रमा रहेको भियना दी कास्तेलो जिल्लाको एउटा सानो सहर पोन्त दी लिमामा उभिएको छु । नजिकै पवित्र र स्वच्छ लिमा नदी एटलान्टिक महासागरलाई भेट्न बगिरहेकी छन् । नदीमाथि हालिएको मध्यकालीन पुल इतिहासको साक्षी बनेर उभिरहेको छ । यो सानो सहरमा पाइलैपिच्छे जस्तो ऐतिहासिक धरोहरको दर्शन गर्ने अवसर पाएँ ।

पोर्तुगिज भाषामा ‘पोन्त’ भनेको पुल हो । लिमा नदीमाथि हालिएको पुलको नामबाटै यो ठाउँको नाम ‘पोन्त दी लिमा’ रहन गयो । अर्थात् लिमा नदीमाथि हालिएको यो पुल यो ठाउँको विशेष ऐतिहासिक गौरव हो । यो सानो सहरमा गौरवपूर्ण ऐतिहासिक धरोहर अहिले पनि उत्तिकै सुरक्षित छन् । छ सय वर्ष पुरानो भवनलाई अहिले पनि गजबले उपयोग गरिएको छ । 

पोन्त दी लिमाको पुरानो नाम रहेछ, तेर्रा दी पोन्त । यसको अर्थ हो, पुलको क्षेत्र । पछि यस ठाउँबाट लिमा नदी बग्ने हुँदा र यस नदीमाथि पुल निर्माण गरिएकाले यो सहरको नाम नै पोन्त दी लिमा भएको हो भन्ने कुरा माथि नै उल्लेख भइसकेको छ ।

मध्यकालीन ऐतिहासिक अवशेष पुल, पर्खाल, टावर, चर्च आदिमा केही अक्षर कुँदिएको पाइएको छ । मध्यकालीन शैली झल्कने ती अक्षरलाई गोथिक लिपि भनिन्छ ।

सात सय वर्ष पुरानो पुल

लिमा नदीमाथि हालिएको यो पुल पूरै ढुङ्गाबाट बनेको छ । प्राचीन रोमन साम्राज्यको समयमै राजा जेनिसको राज्यकालमा इसापूर्व पहिलो शताब्दीदेखि यो पुल बनाउन सुरु गरिएको इतिहास पाइन्छ । रोमन बादसाह सिजर अगस्तसको समयमा रोमन सेनालाई ओहोरदोहोरका लागि सजिलो बनाउन युद्धमार्ग निर्माणका क्रममा लिमा नदीमाथि पुल हाल्न परेको थियो । सन् १३१६ मा दोस्रो चरणको निर्माण सुरु गरेर त्यसको ४३ वर्षपछि यो पुलको निर्माण सम्पन्न भयो । यो पुलको भव्यता हेर्दा मध्यकालको इन्जिनियरिङको भव्यताबारे थाहा हुन्छ । यो पुल मध्यकालमा प्रचलित गोथिक विशेषता अनुसार निर्माण गरिएको छ । 

यो पुल निर्माण सम्पन्न भइसकेपछि राजा पिटर यस क्षेत्रको भ्रमणमा आएका थिए । त्यसैबेला उनले नगर क्षेत्रको सुरक्षा पर्खाल र टावर निर्माणको पनि आदेश दिएका थिए । १६ औँ शताब्दीमा राजा म्यानुअल प्रथमको आदेश अनुसार पुलमा फुटपाथ पुनस्र्थापित गर्न र मेर्लोन (पुलको किनारमा बुर्जा जस्तो सुरक्षा पर्खाल) बनाइएको थियो । सात सय वर्ष पुरानो इतिहास बोकेको यो पुलमाथि सवारीसाधन चलाउन पाइँदैन । पूरै चारपाटे ढुङ्गाबाट बनेको यो पुलको लम्बाइ २७७ मिटर रहेको छ । रातको समय यहाँ जडान गरिएको बिजुलीको प्रकाशले सहरलाई नै सुशोभित बनाउँछ ।

यो नदीको किनारामा इपू १३५ मा पहिलो पटक रोमन सेनाहरू आइपुगेको इतिहास रहेको छ । पुलदेखि दुई सय मिटर दक्षिणको दुरीको बायाँ किनारमा रोमन अक्षर लेखिएको एउटा पुराना शिलास्तम्भ ठडिएको छ । उक्त शिलालेखमा के लेखिएको छ, त्यो भने मैले पढ्न, बुझ्न र अर्थ लगाउन सकिनँ । शिलास्तम्भको अघिल्लतिर नदी तर्न अगाडि बढिरहेको सेनाको दुई लस्करको मस्कट राखिएको छ । त्योसँगै एउटा ढुङ्गामा पोर्तुगिज भाषामा लेखेर राखिएको ताम्रपत्रको अभिलेख भने पढेर अर्थ लगाउन सकिन्छ । सन् २००९ जुन १० मा राखिएको अभिलेखमा उल्लेख भए अनुसार इपू १३५ मा रोमन सेनाहरू त्यहाँ आइपुगेका थिए तर उनीहरू लिमा नदी तर्न भने डराए । त्यसबेला उनीहरूले ग्रीक मिथमा उल्लेख भएको लेथे नदीलाई सम्झे । उक्त मिथ अनुसार लेथे नदी यति भव्य थियो कि त्यहाँ तर्न खोजे आफूबाट सबै सम्झना शक्ति गायब भएर सारा संसार बिर्सिइन्थ्यो । त्यसैले ती रोमन सेना लिमा नदी तर्न डराई नदीकिनारमै अल्मिलिएर उभिइरहे तर उनीहरूका कमान्डर डेसियस जुनियस ब्रुटस भने नदी पार भए । पारि पुगेका उनले प्रत्येक सेनालाई उनीहरूको नामले बोलाए । उनले उक्त नदी लेथे नदी जस्तो सारा संसार बिर्साउने नदी होइन भन्ने प्रमाणित गरेको उक्त अभिलेखमा उल्लेख छ ।

यताबाट हेर्दा यस नदीमा आजभन्दा झन्डै २२ यस वर्षअघि नै रोमन सेनाले पाइला हालेको र आवतजावत सजिलोका लागि नदीमाथि पुल हाल्नुपर्ने आवश्यकता अनुसार पुल निर्माण सुरु गरिएका हुन् भन्ने देखिन्छ ।

रानीको आदेशमा बसाइएको सहर

यो सहरबाटै पोर्तुगलमा नगर सभ्यता सुरु भएको थियो । यो सहर पोर्तुगलको सबैभन्दा पुरानो सहर हो । यही वर्ष सन् २०२५ मार्च ४ मा यो सहरले आफ्नो नौ सय औँ स्थापना दिवस भव्यतापूर्वक मनायो । अहिले पनि सहरको पुरानो संरचनामा सहर स्थापनाको नौ सय वर्ष मनाइएका फ्लेक्स झुन्ड्याएको देख्न पाइन्छ । यो सहरको संस्थापक रानी डोना टेरेसा हुन् । उनको आदेश अनुसार यो सहर बसाइएको हो । यससम्बन्धी ऐतिहासिक अभिलेख अहिलेसम्म सुरक्षित राखिएको छ । रानी टेरेसाले सन् ११२५ मार्च ४ मा एक घोषणापत्र जारी गरी यो सहर बसाउन औपचारिक आदेश दिएकी थिइन् । 

उच्च सम्मानसाथ उनको सालिक यहाँ प्रतिस्थापित गरिएको छ । सहर स्थापनाको घोषणापत्रको एउटा सारलाई सालिकसँगै राखिएको अभिलेखमा पनि अङ्कित गरिएको छ । उक्त अभिलेखमा ‘म रानी डी. टेरेसा र मेरा छोरा राजा अफोन्सोले आफ्नै हातले यो पत्रमा हस्ताक्षर ग¥यौँ’ भन्ने उल्लेख छ । उनका छोरा राजा अफन्सो त्यसबेला केवल छ वर्षका नाबालक भएकाले राजमाताका रूपमा रानी टेरेसा त्यसबेलाको राजकाजमा सक्रिय हुनु परेको थियो । आफ्ना पति राजा हेनरीको मृत्युपछि सन् १११२ देखि उनले रानी उपाधि लिएर पोर्तुगलको शासन समालेकी थिइन् । उनले १६ वर्षसम्म शासन गरेकी थिइन् । ५० वर्षको उमेरमा उनको सन् ११३० नोभेम्बर ११ मा निधन भयो । उनलाई ब्रागाको क्याथड्रलमा समाधिस्थ गरियो । आफ्नो निधनको दुई वर्षअघि नै उनले राजपाठ आफ्ना छोरालाई सुम्पिएकी थिइन् ।


११६ वर्षपहिलेको बाढीको रेकर्ड

यो सहरको अर्को मध्यकालीन अवशेषका रूपमा तेर्रा दी सेन्ट पाउल पनि रहेको छ । पोर्तुगिज भाषामा तेर्रा भनेको टावर हो । मुख्यतः सहरको सुरक्षाका लागि बलियो गरी पर्खाल निर्माण गरिँदा पर्खालको आडका लागि ठाउँ ठाउँमा अग्लो टावर बनाएकामध्येको यो पनि एक हो । १४ औँ शताब्दीमा यसको निर्माण गरिएको हो । यसको परिकल्पना राजा अफोन्सोकै समयमा गरिएको थियो तर यो परिकल्पनालाई जर्ज कोलासोले पूरा गरे ।

यो टावरसँगै यससँग सम्बन्धित रोचक किंवदन्ती यहाँ प्रचलित रहेको छ । पेस्टिगो गल्लीमा रहेको यो टावरको सडकतिरको भित्तामा मार्बलमा बनाइएको एउटा चित्र राखिएको छ । उक्त मार्बलमा उल्लेख भए अनुसार यो चित्र सन् ११४० मा घटेको एक घटनासँग सम्बन्धित छ । 

इतिहास अनुसार राजा अफोन्सो सिकारबाट फर्केर नजिकैको पूजा स्थल नोस्सा सिन्होरा दी अजेभेदोमा आफ्ना सिपाहीका साथ आराम गरिरहेका थिए । त्यतिबेलै ठुलो आवाजसहित कुहिरो वा भयानक आँधी आए जस्तै वरिपरि बाक्लो गरी उडेर आएको धुलोले ढाकियो । राजालाई लाग्यो, दुस्मनका ठुलो फौजले उनीहरूमाथि आक्रमण गर्न लागिरहेको छ । त्यसपछि तत्कालै बडो सतर्कतासाथ उनीहरू प्रतिरक्षाका लागि हातहतियार उठाएर लड्न तयार भए तर त्यत्तिकैमा राजाकी काकी डी. एगासले उनीहरूलाई हाँस्दै रोकेर भनिन्, “यहाँ ठुलो आवाज गरेर धुलो उडाउँदै आइरहेकाहरू तिमीहरूको दुस्मन होइन, गोठालासहित भेडाबाख्राको हुल हो ।” 

यो टावरको भित्ता रहेको एउटा अभिलेखमा ‘यहाँ नदी अचानक आइपुग्यो’ भन्ने लेखिएको छ । यो अभिलेखले समय समयमा लिमा नदीमा निक्कै ठुलो बाढी आएर पानीको सतहले उचाइमा रहेको टावरको केही भाग नै डुबाएको भन्ने जनाउँछ । यहाँको अभिलेख अनुसार सन् १९०९ डिसेम्बर २२ मा लिमा नदीमा आएको पानीको बाढीले टावरको झन्डै एक तिहाइ भाग डुबाएको थियो । यस्तै सन् १९२९ डिसेम्बर ५, १९५९ डिसेम्बर २६ र १९८७ अक्टोबर १५ मा पनि टावरको केही भाग डुबाउने गरी लिमा नदीको पानीको सतह आइपुगेको अभिलेखमा उल्लेख छ । यस ठाउँमा विशेष गरी हिउँदको समयमा ठुला ठुला बाढी आएर सहर डुबानमा परेको थियो भन्ने पनि यो अभिलेखले जनाउँछ ।

पुरानो बन्दीगृह

यहाँका सम्पदाको संरक्षणको क्रममा आजभन्दा पाँच सय वर्षअघि बन्दीगृह (जेल) का रूपमा प्रयोग गरिएको भवनलाई बडो संरक्षणका साथ राखिएको छ । पहिले सहरको सुरक्षाका लागि बनाइएको अग्लो पर्खालमध्येबाट सहरभित्र प्रवेश गर्नका लागि बनाइएको ढोकासँगै यो टावर जोडिएको छ । यो टावरको नाम हो, तोर्रे दा काडेइला भेल्या । 

१४ औँ शताब्दीमा निर्माण गरिएको यो टावर तीन तलाको रहेको छ । बलियो गरी चारपाटे ढुङ्गाबाट बनाइएको यो टावरलाई सन् १५११ मा राजा डी. म्यानुअल प्रथमको आदेश अनुसार बन्दीगृहका रूपमा प्रयोग गर्न थालियो । तीन तलामध्ये माथिल्लो तलामा महिला बन्दीलाई राखिन्थ्यो । बिचको र तल्लो तलामा पुरुष बन्दीलाई राखिन्थ्यो । पछि त्यससँगै नयाँ भवन निर्माण गरेर त्यहाँ महिला बन्दीलाई सारिएको थियो । पुरानो भवनमा पुरुष बन्दीलाई मात्र राख्ने गरिन्थ्यो । सन् १९६० को दशकसम्म यो ऐतिहासिक टावर भवनलाई जेलका रूपमा प्रयोग गरिएको थियो ।

पहिले यस भवनको भित्री भागको माथिल्ला तला पर्यटकका लागि अवलोकन गर्न खुला थियो, तर हाल माथिल्लो तलामा अवलोकन गर्न नपाइने रहेछ । यस भवनको तल्लो तलामा पर्यटन सेवा केन्द्र राखिएको छ । नयाँ बनेको महिला बन्दीगृहको तल्लो तलामा एक रेस्टुरेन्ट रहेको छ । हाल यहाँ कैदीबन्दी राखिँदैन ।

ऐतिहासिक हाटबजार

यो सहरमा हरेक १५ दिनको अन्तरालमा सोमबार हाटबजार लाग्ने गरेको छ । यहाँको इतिहास अनुसार यो हाटबजार विगत नौ सय वर्षदेखि निरन्तर लागिरहेको छ । यो हाटबजारको विषयमा पुराना दस्ताबेजमा पनि उल्लेख छ । जब रानी डोना टेरेसाले सन् ११२५ मार्च ४ मा यस ठाउँमा सहर बसाउन आदेश दिइन्, त्यसपछि जनतालाई किनमेल र विनिमयका लागि सजिलो बनाउन यहाँ हाटबजार पनि सुरु गरियो । रानी टेरेसाको घोषणामा कुनै पनि ठाउँबाट हाटबजार भर्न आउने व्यक्तिलाई दुव्र्यवहार गरिए उसलाई कारबाही तथा जरिबाना हुने उल्लेख छ ।

यस ठाउँमा अनलाइन सपिङको पनि चलन छँदै छ साथै ठुल्ठुला डिपार्टमेन्टल स्टोर पनि सञ्चालित छन् तर यहाँका स्थानीय हरेक १५ दिनको अन्तरालमा लाग्ने यहाँको सोमबारे हाट भर्न उत्तिकै उत्साहित भएको देखिन्छ । यो उनीहरूको इतिहास र संस्कृतिप्रतिको समर्पण पनि हो । यस्तै यो सहरमा लिमा नदीको दाहिने किनारमा पुलको छेवैमा एउटा सानो तर भव्य संरचना रहेको छ । यसलाई देवदूतको पूजा स्थलका रूपमा स्थापना गरिएको हो । १३ औँ शताब्दीको सत्तरीको दशकमा स्थापना गरिएको उक्त मन्दिररूपी संरचनाको केही भागमा बाढीले क्षति गरेपछि यसको पुनर्निर्माण गरियो । धर्मगुरु माइकलको आकृतिसमेत खोपिएको यो संरचनाको पुनर्निर्माण १८ औँ शताब्दीमा गरिएको हो । यो सहरमा १४ औँ शताब्दीमा बनेका गिर्जाघर पनि रहेका छन् ।

जसले इतिहासको सम्मान गर्दैन, उसले देश हाँक्न सक्दैन । जसले संस्कृति बुझ्दैन, त्यो मानिस सभ्य हुँदैन । जसले भूगोल जान्दैन, त्यो मानिस देशभक्त हुन सक्दैन । पोर्तुगल देशको देशभक्ति, सभ्यता र इतिहासप्रेम थाहा पाउन यहाँको सानो सहर पोन्त दी लिमालाई हेरे पुग्छ । यो देशले प्रगतिपथमा त्यत्तिकै फड्को मारेको होइन ।