मुसीकोट समाचारदाता
रुकुमपश्चिम, फागुन ९ गते । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा रुकुमपश्चिममा मतदान केन्द्रको अनुगमन तीव्र पारिएको छ । निर्वाचनका लागि तोकिएका मतदान केन्द्र तथा स्थलमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला निर्वाचन कार्यालय, जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोलीले स्थलगत अनुगमन गरेको हो ।
एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको यहाँ कुल ७६ मतदान स्थल र १४० मतदान केन्द्र निर्धारण गरिएको छ । तीमध्ये २१ मतदान स्थल भने अति संवेदनशील सूचीमा छन् । त्यसै गरी ४३ वटा मतदान स्थल संवेदनशील र १२ वटा मतदान स्थल सामान्य सूचीमा छन् । सम्भावित सुरक्षा चुनौती, भौगोलिक विकटता र विगतका निर्वाचन अनुभवलाई आधार मानेर ती क्षेत्रलाई अति संवेदनशील श्रेणीमा राखिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका प्रमुख दिनेशप्रसाद थानीले जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षा संवेदनशीलता वर्गीकरण गरिएका सबै मतदान केन्द्रमा अनुगमन टोली पुगिरहेको छ ।
अनुगमनका क्रममा मतदान केन्द्रको भौगोलिक बनावट तथा व्यवस्थापनको अवस्था, मतदाताको पहुँच, निर्वाचन सामग्रीको उपलब्धता, मतपेटिका सङ्कलनलगायतका विषयलाई प्राथमिकता दिने गरिएको छ । यसका साथै मतदाता, स्थानीय राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलगायतसँग छलफल गरिएको प्रमुख जिल्ला अधिकारी थानीले जानकारी दिनुभयो । अनुगमनपश्चात् मतदान केन्द्रको सुरक्षा अवस्था, पहुँचमार्ग, सञ्चार सुविधा तथा आपत्कालीन व्यवस्थापनको अवस्थाबारे समीक्षा हुने गरेको छ ।
जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिकाका अधिकांश मतदान केन्द्रमा स्थलगत अनुगमन गरिएको जानकारी दिनुभयो । मुसीकोट नगरपालिका र बाँफीकोट गाउँपालिकाका केही केन्द्र अनुगमन गर्न बाँकी छन् ।
जिल्लामा कुल एक लाख छ हजार ६६० मतदाता छन् । तीमध्ये ५२ हजार ३९६ महिला, ५४ हजार २६३ पुरुष र एक जना अन्य मतदाता छन् । प्रतिनिधि सभा सदस्य पदका लागि १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।