• ९ फागुन २०८२, शनिबार

‘लुम्बिनी अस्पतालदेखि आइटी हबसम्मका योजना’

blog

बुटवल समाचारदाता

बुटवल, फागुन ९ गते । नेकपा (एमाले) का उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार विष्णुप्रसाद पौडेलले विकास, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै शुक्रबार प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पौडेलले बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी र सुशासनका प्राथमिक एजेन्डा अघि सार्नुभएको हो ।

उहाँले निर्माणाधीन १२ सय शय्याको लुम्बिनी प्रादेशिक अस्पताल सम्पन्न गरी प्रभावकारी रूपमा सञ्चालनमा ल्याइने, सैनामैना र तिलोत्तमामा आधारभूत अस्पतालको स्तरोन्नति गरिने तथा गुणस्तरीय स्वास्थ्य सेवाका लागि आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँको प्रतिबद्धतापत्रमा भनिएको छ, “रूपन्देहीका नागरिक उपचारका लागि राजधानी धाउनुपर्ने अवस्था अन्त्य गरिने छ ।”

शिक्षातर्फ लुम्बिनी बौद्ध विश्वविद्यालयको क्षमता विस्तार, बुटवल बहुमुखी क्याम्पसको पूर्वाधार विकास, मेडिकल कलेज सञ्चालन तथा कृषि र इन्जिनियरिङ क्याम्पस स्थापना गर्ने योजना अघि सारिएको छ । सामुदायिक विद्यालयमा पूर्वाधार, प्रयोगशाला र प्रविधिमैत्री शिक्षण प्रणाली विस्तार गरिने जनाइएको छ ।

रोजगारी र आयआर्जनमा सूचना प्रविधि केन्द्र स्थापना, स्टार्टअप सिड फन्ड, सहुलियत कर्जा तथा ‘पढ्दै काम गर्दै’ कार्यक्रममार्फत युवालाई उत्पादन र उद्यमसँग जोड्ने नीति लिइने उल्लेख छ । वैदेशिक रोजगारीबाट फर्केका युवाको सिप र पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सहजीकरण गरिने प्रतिबद्धता पनि जनाइएको छ ।

पूर्वाधार विकास अन्तर्गत सिद्धार्थ राजमार्ग स्तरोन्नति, सिद्धबाबा सुरुङमार्ग सम्पन्न, तिनाउ नदीमा सिग्नेचर पुल निर्माण तथा स्थानीय सडक सञ्जाल विस्तार गर्ने योजना समेटिएको छ । साथै कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना अघि बढाइ सिँचाइ र बस्ती संरक्षणलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।

भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधान, प्रत्येक घरधुरीमा स्वच्छ खानेपानी, फोहोर व्यवस्थापन केन्द्र सञ्चालन तथा सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने उल्लेख गरिएको छ । सुशासनतर्फ भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन, नियमित जनसुनुवाइ, प्रगति प्रतिवेदन सार्वजनिक गर्ने र जनसहभागिता अभिवृद्धि गर्ने प्रतिबद्धता जनाइएको छ ।

यस अवसरमा उहाँले विगतमा सुरु गरिएका अधुरा आयोजना समयमै सम्पन्न गर्ने र नयाँ योजना कार्यान्वयनमा पारदर्शीता तथा परिणाममुखी बनाइने बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय सुदृढ गर्दै स्रोत व्यवस्थापन प्रभावकारी बनाइने उल्लेख गर्दै उहाँले रुपन्देही–२ लाई शिक्षा, स्वास्थ्य, उद्योग र सेवा क्षेत्रको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “राजनीतिक स्थायित्व र नीतिगत निरन्तरतामार्फत मात्र दिगो विकास सम्भव छ ।” उहाँले स्थानीय आवश्यकता र जनअपेक्षालाई आधार मानेर कार्यव्रmम अघि बढाइने तथा जनतासँगको प्रत्यक्ष संवादलाई निरन्तरता दिइने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । यस क्षेत्रबाट कांग्रेस उम्मेदवार चुन्नप्रसाद पौडेलले भने केही दिनअगाडि नै प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको थियो । 

एमालेका उपाध्यक्ष पौडेलले रुपन्देही–२ बाट ४ पटक निर्वाचन जित्नुभएको छ तर यस पटक उहाँलाई नयाँ उम्मेदवाले टक्कर दिइरहनुभएको छ । रुपन्देही–२ मा ३९ जनाले उम्मेदवारी दिनुभएको छ । नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेल शर्मा, नेपाली कम्युनिस्ट पार्टीबाट सुवास पाण्डे (विश्वदीप), राष्ट्रिय स्वतन्त्र पार्टीबाट शुलभ खरेल र नेपाल जनसेवा पार्टीका कमल भुसाल (निकोलस) लगायतले उम्मेदवारी दिनुभएको छ ।