नवीनराज कुइँकेल
लमजुङ, फागुन ९ गते । निर्वाचनका लागि व्यवस्थित मतदान केन्द्रमा सुरक्षाकर्मी तयारी अवस्थामा छन् । मतदाता मताधिकार प्रयोग गर्न लाइनमा उभिएका छन् । महिला, पुरुष र अशक्त मतदाताका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ ।
मतदान कर्मचारी आ–आफ्नो जिम्मेवारीमा खटिएका छन् । निर्वाध रूपमा मतदान चलिरहेको छ । यत्तिकैमा एक हुल युवा मतदान बिथोल्ने उद्देश्यले नाराबाजी गर्दै प्रवेश गर्छन् । नाराबाजी गरिरहेको भीडलाई निर्वाचन प्रहरीले रोक्न खोजे पनि अवस्था नियन्त्रणमा लिन सक्दैन । त्यसपछि मतदानस्थलमा खटिएको जनपथ प्रहरी टोली सक्रिय हुन्छ, तर स्थिति अझै नियन्त्रणमा आउँदैन ।
तत्कालै सशस्त्र प्रहरीको टोली निर्वाचनको पहिलो घेरामा आइपुग्छ । उनीहरूले माइकिङ गरी भीडलाई शान्त हुन आग्रह गर्छन् । तर पनि होहल्ला र नाराबाजी रोकिँदैन । त्यसपछि अर्को सुरक्षाकर्मी टोली अगाडि बढ्छ । हतियारसहित आएको नेपाली सेनाको टोलीले सीमा निर्धारण गरी निर्वाचन बिथोल्ने समूहलाई नियन्त्रणमा लिन प्रयास गर्छ । प्रयास असफल भएपछि सेनाले ‘पोजिसन’ लिएर हतियार तेर्साउँछ । त्यसपछि भीड तितरबितर हुन्छ । केही बेरमै स्थिति नियन्त्रणमा आएपछि मतदान प्रक्रिया पुनः सुरु हुन्छ ।

यो दृश्य निर्वाचन स्थलको सुरक्षाका लागि लमजुङ सदरमुकाम बेँसीसहरस्थित फुलबारी मञ्चमा गरिएको सुरक्षा अभ्यासको हो । निर्वाचनका बेला हुन सक्ने सुरक्षा चुनौतीलाई तीन वटै सुरक्षा संयन्त्रले कसरी एकीकृत रूपमा सामना गर्ने भन्नेबारे जानकारी दिन नमुना अभ्यास गरिएको हो ।
लमजुङका प्रमुख जिल्ला अधिकारी उमेश ढुंगानाका अनुसार जिल्ला सुरक्षा समितिको समन्वयमा गरिएको अभ्यासले फागुन २१ गते हुने निर्वाचनमा सुरक्षा प्रणाली कसरी चुस्त र प्रभावकारी राख्ने भन्ने स्पष्ट पारेको छ । निर्वाचन प्रहरीसहित तीन वटै सुरक्षा संयन्त्र एकीकृत रूपमा तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालले निर्वाचनमा बदर मत कम गराउने, मतदातालाई मतदान प्रक्रियाबारे व्यावहारिक जानकारी गराउने तथा सम्भावित घटना र भीड नियन्त्रणका उपायबारे सचेत गराउन नमुना मतदान र एकीकृत सुरक्षा अभ्यास गरिएको बताउनुभयो ।

लमजुङमा १३० मतदानस्थल, १९२ मतदान केन्द्र र एउटा अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारी गरी एक हजार ७५० कर्मचारी खटिनेछन् । मतदानस्थलको पहिलो घेरा र मतपेटिकाको सुरक्षामा नेपाल प्रहरी खटिनेछ भने बाहिरी घेरामा आवश्यकताअनुसार सशस्त्र प्रहरी र नेपाली सेनासमेत परिचालन गरिनेछ ।
जिल्ला सुरक्षा समितिका अनुसार निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरीसहित दुई हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन् । करिब ३०० सशस्त्र प्रहरी, ६०० भन्दा बढी नेपाली सेना, ६०० जना जनपथ प्रहरी र एक हजार ३०६ जना निर्वाचन प्रहरी परिचालन गरिने जनाएको छ ।
