• ९ फागुन २०८२, शनिबार

उम्मेदवारबिच एजेन्डामा बहस

blog

उम्मेदवारबिच आयोजना गरिएको चुनावी बहस कार्यक्रम । तस्बिर : लक्ष्मी तिमिल्सेना

जमुनाह समाचारदाता

जमुनाह (बाँके), फागुन ९ गते । महेन्द्र पुस्तकालय नेपालगन्जले बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारबिच चुनावी बहस गरेको छ । बहसमा नेकपा (एमाले) का उम्मेदवार मोहम्मद इस्तियाक राईले बाँके क्षेत्र नं. २ को विकासका लागि भौतिक पूर्वाधार, रोजगारी सिर्जना र सुशासनलाई प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बाँके क्षेत्र नम्बर २ लाई आर्थिक रूपमा सबल बनाउने, युवालाई स्वदेशमै रोजगारी दिने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने मेरो एजेन्डा हो ।”

नेपाली कम्युनिस्ट पार्टीका दीपेन्द्र विष्टले सामाजिक न्याय र उत्पादनमुखी अर्थतन्त्रलाई केन्द्रमा राख्ने बताउँदै भन्नुभयो, “हामी जनताको पक्षमा उभिने राजनीतिक विकल्प हौँ । शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर समानताको आधार तयार गर्छौं ।” त्यसै गरी नेपाली कांग्रेसका सुधांशु कोइरालाले लोकतान्त्रिक मूल्यमान्यतासहित समावेशी विकासमा जोड दिँदै भन्नुभयो, “बाँकेको सम्भावनालाई सदुपयोग गर्दै पारदर्शी र उत्तरदायी नेतृत्व गर्न म प्रतिबद्ध छु ।”

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका ऋषिराज देवकोटाले परम्परा, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणसँगै स्थानीय विकासलाई अघि बढाउने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “स्थायित्व र सुशासनमार्फत जनताको सेवा नै हाम्रो लक्ष्य हो ।” स्वतन्त्र उम्मेदवार सौभाग्यजङ्ग शाहले पनि दलभन्दा माथि उठेर जनताको प्रत्यक्ष सरोकारका विषयमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्वतन्त्र आवाजका रूपमा यस क्षेत्रका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा उपस्थित नागरिक अगुवा, युवापुस्ता, पत्रकार र सरोकारवालाले उम्मेदवारसँग प्रत्यक्ष प्रश्नोत्तरसमेत गरेका थिए ।

कार्यक्रममा सहभागीले उम्मेदवारबाट विभिन्न प्रश्न गर्दै विकास निर्माण कार्य बारे धारणा माग गरेका थिए । राष्ट्रिय तथा स्थानीय मुद्दामा केन्द्रित रहेको बहसले स्थानीय समस्याको समाधानमा सङ्घीय सांसदको भूमिकादेखि विकास तथा पूर्वाधार, सुशासन र भ्रष्टाचार नियन्त्रण, शिक्षा–स्वास्थ्य र रोजगारी, महिला तथा अल्पसङ्ख्यक अधिकार र वातावरण संरक्षण जस्ता विषयमा केन्द्रित थियो ।

महेन्द्र पुस्तकालयको सामाजिक सरोकार उपसमितिको आयोजनामा मतदातालाई उम्मेदवारको नीति, दृष्टिकोण र प्रतिबद्धताबारे स्पष्ट जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उपसमितिका संयोजक, लेखक तथा पुस्तकालयका सल्लाहकार नरेन्द्रजङ्ग पिटरले जानकारी दिनुभयो ।

पुस्तकालयमार्फत सार्वजनिक चासोका विषयमा स्वस्थ बहस संस्कृतिको विकास गर्ने प्रयासस्वरूप कार्यक्रम गरिएको बताउँदै पिटरले उम्मेदवारसँगको बहसले उनीहरूका विचारको तुलनात्मक विश्लेषण गर्न, मतदातालाई उचित निर्णय लिन र लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।