• ९ फागुन २०८२, शनिबार

गाउँ–गाउँमा मतदाता शिक्षा प्रभावकारी रूपमा सञ्चालन

blog

सिमकोट गाउँपालिका–२ को ठेहे गाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, फागुन ९ गते ।
फागुन ३ गतेबाट सुरु भएको मतदाता शिक्षा कार्यक्रम गाउँ–गाउँमा सञ्चालन गर्ने कार्यले तीव्रता पाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर हुन सक्ने मत कम गर्न खटिएका स्वयंसेवकहरूले मतदाता शिक्षा प्रभावकारी रूपमा सञ्चालन गरिरहेका छन् ।

अदानचुली गाउँपालिका–२ की मतदाता बेला विकले समयमै स्वयंसेवक आएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । आफूले कार्यक्रममा सहभागिता जनाएको र यसपटक बदर मत नहुनेमा विश्वस्त रहेको उहाँको भनाइ छ । मतदान गर्दा मत कसरी बदर हुन सक्छ, आफ्नो मत आफैं कसरी खसाल्ने लगायतका विषयमा स्वयंसेवकहरूले सहजीकरण गरिरहेको विकले बताउनुभयो ।

मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि चङ्खेली गाउँपालिका–१ की स्वयंसेविका ज्ञानु थापाले फागुन ३ गतेदेखि कार्यक्रम सुरु गरेको जानकारी दिनुभयो । गाउँबस्तीमा उपलब्ध मतदाताले समय दिएर सहयोग गरेकोमा आफू सन्तुष्ट रहेको उहाँले बताउनुभयो । सुरुमा बस्ती–बस्तीमा पुगेर शिक्षा प्रदान गरिएको र शुक्रबारदेखि घर–घरमै पुगेर मतदाता शिक्षा दिइरहेको उहाँको भनाइ छ । मतदाता शिक्षाका लागि तयार पारिएका पाठ्य सामग्रीबारे जानकारी गराउने र मत बदर हुन नदिने उपाय सिकाउने कार्य भइरहेको उहाँले बताउनुभयो । मतदाताले विषयवस्तु राम्रोसँग बुझेको देखिएकाले यस कार्यक्रमले बदर मत घटाउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाले जिल्लाका ४१ वटा वडाका बस्तीमा मतदाता शिक्षा प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताउनुभयो । हुम्ला जिल्लाका सात वटा गाउँपालिकामा ४४ वटा वडा रहेका छन् ।

आइतबारबाट ताँजाकोट गाउँपालिका–३, मासपुर मतदान केन्द्रमा कार्यक्रम लागु गरिने र नाम्खा गाउँपालिका–३ अन्तर्गत हिमालपारिको लिमीका तीन वटा मतदान केन्द्रमा मेलमार्फत मतदाता शिक्षा सामग्री पठाएर कार्यक्रम सञ्चालन गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । एक–दुई दिनभित्र सुरु गर्ने प्रतिबद्धता त्यहाँका स्वयंसेवकबाट आएको छ ।

लिमी प्रवेश गर्ने दुई वटा नाका बन्द रहेकाले त्यहाँका स्वयंसेवक कार्यालयमा आउन नसक्ने अवस्था भएपछि वैकल्पिक उपाय अपनाइएको उहाँले जानकारी दिनुभयो । हाल नाम्खा गाउँपालिका–४, चाला गाउँस्थित हिमालय प्रावि मतदान केन्द्रमा मात्र कार्यक्रम सञ्चालन हुन बाँकी रहेको र यसका लागि गाउँपालिकासँग समन्वय भइरहेको छ ।

हिमपात र भौगोलिक विकटताका कारण तीन वटा वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ढिलाइ भएको उहाँले बताउनुभयो । फागुन १७ गतेसम्म कार्यक्रम जारी रहने छ । यसमा खटिने स्वयंसेवकलाई एकमुष्ट १० हजार रुपियाँ पारिश्रमिक दिने व्यवस्था गरिएको छ ।