• ९ फागुन २०८२, शनिबार

सप्तरी ४ मा चौथो पटक जित निकाल्ने दाउमा पूर्वमन्त्री चौधरी

blog

नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका तेजुलाल चौधरी ।

विनय कर्ण
कल्याणपुर (सप्तरी), फागुन ९ गते ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ बाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । धेरै उम्मेदवार मैदानमा रहेकाले यस क्षेत्रको निर्वाचनलाई स्थानीय मतदाताहरूले अत्यन्तै रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरेका छन् ।

नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका तेजुलाल चौधरी यसअघि सोही क्षेत्रबाट तीनपटक निर्वाचित भइसक्नुभएको छ । ह्याट्रिक जित निकालिसक्नुभएका उहाँ चौथो जित निकाल्ने कसरतमा लाग्नुभएको हो ।

पूर्व युवा तथा खेलकुद मन्त्रीसमेत रहनुभएका चौधरी २०७० सालको दोस्रो संविधानसभा निर्वाचन, २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा लगातार विजयी हुँदै आउनुभएको हो । चौथोपटक पनि मतदाताको समर्थन प्राप्त हुने उहाँको विश्वास छ ।

यस्तै नेकपा एमालेबाट गङ्गाप्रसाद चौधरी उम्मेदवार बन्नुभएको छ । उहाँ यस क्षेत्रका पुराना एमाले नेता हुन् ।

नेपाली कम्युनिस्ट पार्टीबाट रुवीकुमारी कर्ण, जनता समाजवादी पार्टी नेपालबाट बबि सिंह यादव, तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सीताराम साह उम्मेदवार रहनुभएको छ । साह केही दिन अघिसम्म नेपाली कांग्रेसका क्षेत्रीय सभापति रहनुभएको थियो ।

यसैगरी, नागरिक उन्मुक्ति पार्टीबाट रामाकान्त चौधरी, जनमत पार्टीबाट जितेन्द्र कुमार साह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रूपकुमार न्यौपाने लगायतका उम्मेदवार पनि चुनावी मैदानमा रहनुभएको छ ।

स्थानीय मतदाताहरूका अनुसार यसपटक ठुला दल, नयाँ दल र स्वतन्त्र उम्मेदवारहरू पनि मैदानमा रहेकाले चुनावी प्रतिस्पर्धा कडा हुने देखिएको हो ।

तीन पटक जितेर चौथो पटक जित निकाल्ने दाउमा रहनुभएका चौधरीलाई यसपटक रोक्न दिन २३ जना उम्मेदवार अझै चुनावी प्रतिस्पर्धामा रहे पनि उहाँसँग नेपाली कम्युनिस्ट पार्टीका रुवी, जसपा नेपालका बबि, रास्वपाका सीताराम र एमालेका गङ्गा मुख्य प्रतिस्पर्धीको रूपमा देखिएको मतदाताहरू बताउँछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सीताराम साह लामो समय कांग्रेसमै रहेर राजनीति गर्दै आए पनि अहिले फरक पार्टीबाट प्रतिस्पर्धी बन्नुले पनि पूर्वमन्त्री चौधरीलाई यसपटकको चुनाव जित्न सकस हुने स्थानीय मतदाताहरूको अनुमान छ ।

कांग्रेसका प्रत्यासी चौधरी भने यस पटक पनि आफुलाई जनताले पत्याउने विश्वास व्यक्त गर्नुहुन्छ । उहाँले विगतको कार्यकालमा विकासिय काम गरेको र अधुरा योजना पूरा गर्ने प्रतिबद्धतालाई चुनावी एजेन्डा बनाउनुभएको छ । वैकल्पिक राजनीतिक शक्ति, विकास र सुशासनलाई आफ्नो मुल एजेन्डा भएकोले जनताले आफुलाई पत्याउने रास्वपाका उम्मेदवार साहको दाबी छ ।

यस क्षेत्रका जनताले परिवर्तन र विकासको एजेन्डा पूरा गर्ने उम्मेदवारलाई जिताउने विश्वास जसपा उम्मेदवार डा. सिंह र नेकपा उम्मेदवार कर्णको रहेको छ ।

कूल एक लाख नौ हजार ५६६ मतदाता रहेको यसक्षेत्रमा उज्यालो नेपाल पार्टीका विशोकुमार यादव, आम जनता पार्टीका अनिताकुमारी चौधरी लगायतका उम्मेदवार पनि जित निकाल्न प्रयास गरिरहेका छन् । बोदेबरसाइन नगरपालिका, खडक नगरपालिका, सुरुङ्गा नगरपालिका तथा बलान बिहुल गाउँपालिका गरी यस क्षेत्रमा कुल ४ पालिका पर्दछ ।