देउखुरी समाचारदाता
देउखुरी, फागुन ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना उम्मेदवारले गलत कार्य गरे पाँच मिनेटभित्रै कारबाही गरिने बताउनुभएको छ । चुनावी सभाका लागि दाङका तीन वटै निर्वाचन क्षेत्रमा पुगेका सभापति लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले राजनीतिलाई पेसा नबनाउने बताउँदै राजनीतिलाई पेसा बनाएर गलत काम गरे तत्काल कारबाही गरिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामी गलत गर्दैनौँ । पुरानाले गलत गरेकाले हामी आएका हौँ । हामी र हाम्राले गलत गरे छोड्दैनौँ, पाँच मिनेटभित्रै कारबाही गर्छौं ।”
पूर्व गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेले पुराना दलका सदस्यता खोस्न आफूहरू नआएको स्मरण गराउँदै अघिल्लो पटक कम मत आएको उल्लेख गर्नुभयो । यस पटक बहुमत दिएर न्याय, विकास र सुशासनका पक्षमा काम गर्ने अवसर दिन मतदातासँग आग्रह गर्नुभयो । दाङ क्षेत्र नं. १ को लमहीमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले जताततै रास्वपाको माहोल बढेपछि प्रतिस्पर्धी आत्तिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो माहोल देखेर कोही आत्तिएका छन्, निराश भएका छन् र सहानुभूति बटुल्न विभिन्न गतिविधि गर्न थालेका छन् ।”
दाङ क्षेत्र नं. ३ को तुलसीपुरमा सम्बोधनका क्रममा सभापति लामिछानेले अरूको आस्था र झन्डामाथि रास्वपाले चोट पुर्याउन नसक्ने बताउनुभयो । तुलसीपुरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को झन्डा जलाइएको घटनातर्फ सङ्केत गर्दै उहाँले त्यो पार्टीको नीति नभएको स्पष्ट पार्नुभयो । उक्त घटनामा रास्वपाका कार्यकर्ता नभई घुसपैठ हुन सक्ने आशङ्का व्यक्त गर्दै यदि कसैले गलत गरेको पुष्टि भए कारबाही गरिने बताउनुभयो ।