गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ९ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेशको आयोजनामा शुक्रबारबाट नक्सालमा ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी/सम्मेलन २०८२’ सुरु भएको छ । प्रदर्शनीका प्रमुख अतिथि बागमती प्रदेशका माननीय संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले उद्घाटन गर्नुभयो । उहाँले कला, संस्कृति कहिल्यै नमर्ने बताउँदै नेपालको पहिचान दिलाउन र अर्थतन्त्रमा कलाकारले गरेको योगदानको प्रशंसा गर्नुभयो । श्रेष्ठले कलाकार अरनिकोको मूर्ति तथा पाँचपोखरी थाङपालमा निर्माणाधीन ८४ फिट अग्लो बुद्धमूर्तिको चर्चा गर्दै यस विषयमा बागमती प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले समाजको सफ्टपावर भनेको कलाकार भएकाले यसको सुरुवात ललितकलाले गरेको र कलाका विषयमा अहिले उपत्यकाबाहिर पनि चर्चापरिचर्चा बढेको बताउनुभयो । उहाँले आगामी दिनमा सामाजिक रूपान्तरणमा ललितकलाको अभियानलाई अझ सशक्त गर्दै नेपाली माटो चिनाउने कलाको विकास, खोज, अनुसन्धानका क्षेत्रमा विभिन्न कार्य गर्दै जानुपर्ने धारणा राख्नुभयो ।
प्रतिष्ठानका उपकुलपति तथा बागमती प्रदेश समन्वय समिति संयोजक लालकाजी लामाले प्रादेशिक प्रदर्शनी सुरुवात गरेको प्रसङ्ग सम्झाउँदै प्रतिष्ठानले कलाको विकासका लागि जरामा गोडमेल गर्नुका साथै स्थानीय भूगोलमै जोडिएर काम गर्ने प्रयत्न गरेको बताउनुभयो । उहाँले ललितकलाको प्रवर्धन र विकासमा प्रतिष्ठानले सबैसँग सहकार्य गर्दै अघि बढेको बताउनुभयो । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले स्रष्टा युगको द्रष्टासमेत भएको बताउँदै आगामी दिनको ललितकलाको इतिहास लेख्ने अहिलेको पुस्ता भएको बताउनुभयो । उहाँले समाजलाई सकारात्मक, उन्नतशील र गतिशील बनाउन पनि संस्कृतिकर्मीको महत्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो ।
समारोहमा सिद्धिरत्न शाक्य (परम्परागत मूर्तिकला), रामसुन्दर ख्याजु (परम्परागत चित्रकला पौभा), सरिता चित्रकार (लोककला), विश्वम्भर लामिछाने (मूर्तिकला), सिन्धुली कला घर (सिन्धुली), वल्र्ड आर्ट लिङ्क (रत्ननगर, चितवन), ई आर्टस् नेपाल (ललितपुर) लाई सम्मान गरिएको थियो । सम्मानित संस्था तथा व्यक्तित्वमध्येबाट आफ्नो धारणा राख्दै कलाकार विश्वम्भर लामिछानेले कलाका विविध पक्षको चर्चा गर्दै प्रतिष्ठानले सम्मान गरेकोमा आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू, प्राज्ञ सभाका सदस्यसँगै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान पूर्वउपकुलपति गोपाल चित्रकार, सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुन, ललितकला क्याम्पस भोटाहिटीका क्याम्पस प्रमुख डा. यामप्रसाद शर्मा, राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बम बानियाँसँगै कलाकार, पत्रकारलगायतको उपस्थिति रहेको थियो । प्रदर्शनी फागुन १२ गतेसम्म चल्ने छ ।