गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ९ गते । ललितपुरको गोदावरी नगरपालिका–४ मा डाँफे जल उद्योगले उत्पादन गर्ने खानेपानीको गुणस्तरमा समस्या देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त उद्योगले पुराना, कुच्चिएका र थोत्रा जार पानी भरेर बजार पठाउने गरेको अनुगमनमा पाइएको हो । विभागका अनुसार उपभोक्ताको धेरै गुनासो आएपछि उक्त उद्योगको अनुगमन गरेको जनाएको छ । फोहोर जारमा पानी बिक्रीवितरण गरेको भन्ने उजुरी र गुनासोको सम्बोधन गर्ने क्रममा विभागले सो उद्योगमा अनुगमन गरेको जनाएको छ ।
विभागका अनुसार प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ बमोजिम अनिवार्य रूपमा राख्नुपर्ने सिआइपी रेकर्ड, तालिका र एसओपी जस्ता कुनै पनि अभिलेख उद्योगमा नभएको पाइयो । व्यक्तिगत सरसफाइमा लापर्बाही श्रमिकले काम गर्दा हेयर नेट र ग्लोब्स नलगाएको तथा गहना, नेल पोलिस र चुरा लगाएको भेटिएको छ । विभागले तत्कालै छ वटा पुराना र थोत्रा जार नष्ट गरेको छ र भविष्यमा त्यस्ता जार प्रयोग नगर्न कडा निर्देशन दिएको छ । साथै प्रयोगशाला परीक्षणका लागि जारको पानीको नमुनासमेत सङ्कलन गरिएको छ ।
विभागका प्रवक्ता डा. बालकुमारी शर्माले अनुगमनका केही झलकसमेत सार्वजनिक गर्दै उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने उद्योगलाई कारबाही हुने बताउनुभयो । उद्योगलाई प्रशोधित पिउने पानी उत्पादनसम्बन्धी निर्देशिका, २०७४ र नेपाल राजपत्रमा उल्लेखित मापदण्डबमोजिम उत्पादन गर्न, श्रमिकको व्यक्तिगत सरसफाइमा सुधार गर्न र जारको स्वच्छतामा विशेष ध्यान दिन निर्देशन दिएको जानकारी दिनुभयो ।
हेल्थ केयरलाई जरिबाना
यसैबिच वाणिज्य, आपूर्ति तथा संरक्षण विभागको अनुगमन टोली वीरगगन्ज महानगरपालिकामा रहेको शुभम् हेल्थकेयरलाई रकम दुई लाख एक हजार रुपियाँ जरिबाना रहेको छ । विभागको अनुगमन टोलीले उपत्यकाबाहिरका बजारको अनुगमन गर्दा शुभम हेल्थकेयर दर्ता नवीकरण नगरी सञ्चालन भएको पाइएपछि सो बराबरको रकम जरिबाना गरेको हो ।
विभागले विशेष गरी उपभोक्ता संरक्षण ऐनविपरीत कार्य गर्ने विभिन्न व्यवसायलाई यस कागजातमार्फत सार्वजनिक रूपमा सचेत गराइएको छ । अनुगमन टोलीले वीरगन्ज र भक्तपुर क्षेत्रका पाँच वटा व्यापारिक फर्मको अनुगमन गरेको जनाएको छ ।