• ९ फागुन २०८२, शनिबार

अर्थतन्त्र उकास्न सरकार प्रयासरत

blog

गोरखापत्र समाचारदाता

ललितपुर, फागुन ९ गते । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनपछि मुलुकमा देखिएका विभिन्न आशङ्का र अन्योललाई चिर्दै सरकार निर्वाचनको वातावरण सफल बनाउन लागि परेको बताउनुभएको छ । 

नेपाल पर्यटन बोर्ड र परिसूचक मिडियाले ललितपुरमा शुक्रबार आयोजना गरेको पर्यटन गोष्ठीमा उहाँले सरकार गठन भएका सुरुवाती दिनमा सरकारसामु अनेकौँ चुनौती रहे पनि राजनीतिक दलसँगको निरन्तरको संवाद र सहकार्यपछि मुलुकमा निर्वाचन सुनिश्चत भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकार बनेको पाँच छ हप्तासम्म आमनागरिकसँगै राजनीतिक वृत्तमा निर्वाचन हुँदैन कि भन्ने भन्ने आशङ्का थियो । जेनजी अन्दोलनका क्रममा जेलबाट भागेका कैदी, लुटिएका हतियार र नयाँ पुस्ताले पुराना राजनीतिक दलसँग वार्ता र संवाद नै गर्न नचाहेको चुनौतीलाई सरकारले अत्यन्तै संयमतापूर्वक मेटाउन सफल भएको छ । निर्वाचन सफल बनाउनुका साथै भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने जिम्मेवारीसमेत यो सरकारलाई रहेकोमा कतिपय कुरामा सफलता प्राप्त भएको छ । देशको अर्थतन्त्र उन्नयनका लागि सरकारले हरसम्भव प्रयत्न गरेको छ ।”

मन्त्री खनालले सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्नु पर्दा पर्यटनलगायत अन्य क्षेत्रको विकासको काममा पर्याप्त ध्यान दिन नसकेको बताउँदै पर्यटन क्षेत्र अर्थतन्त्रको मुख्य मेरुदण्ड रहेकाले दिगो पर्यटन विकास गर्न जरुरी रहेकोमा जोड दिनुभयो । 

पर्यटनले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन र समग्र आर्थिक वृद्धिमा महìवपूर्ण भूमिका खेलेको बताउँदै उहाँले पर्यटन क्षेत्रको महìवलाई कागजमा मात्र सीमित नराखी यस क्षेत्रको नीति, कार्यक्रम र आयोजनालाई सम्बोधन गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

दिगो, समावेशी र जिम्मेवार पर्यटन अभ्यासमार्फत पर्यटन प्रवर्धन गर्ने दिशामा सरकार निरन्तर काम गरिरहेको बताउँदै उहाँले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अर्थतन्त्रका सबै क्षेत्रलाई समान रूपमा अघि बढाउनेतर्फ सरकार प्रतिबद्ध रहेकोबारे समेत स्पष्ट पार्नुभयो ।

त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले जलवायुजन्य विपत्का कारण पर्यटन क्षेत्र प्रभावित हुँदा त्यसको सबैभन्दा ठुलो मार महिलामाथि परिरहेको बताउँदै महिलाद्वारा सञ्चालित उद्यम, लैङ्गिक संवेदनशील पूर्वाधार र सामुदायिक संरक्षणमा लगानी गर्न आग्रह गर्नुभयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, “महिलाद्वारा सञ्चालित उद्यममा सहज पहुँचयोग्य जलवायु कोष, सहकार्य सुदृढीकरण, पानी तथा नवीकरणीय ऊर्जा जस्ता लैङ्गिक संवेदनशील पूर्वाधारमा लगानी आवश्यक छ । जलवायु परिवर्तनले एकातर्फ महिलाले सञ्चालन गर्दै आएका घरबास, स्थानीय उत्पादनको बिक्री र होटेल तथा जलक्षेत्र प्रभावित हुने गरेको छ भने अर्कातर्फ महिला वित्तीय पहुँचमा सीमित र अनौपचारिक वा कम पारिश्रमिक क्षेत्रमा सीमित हुने बढी जोखिममा छ ।”

हिमताल विस्फोट, अनियमित हिमपात, पहिरोका कारण ट्रेकिङ पदमार्ग अवरुद्ध हुनु, पर्यटकीय क्षेत्रमा पानीको अभाव र सम्पदामा क्षति जस्ता घटनाले पर्यटनलाई बढ्दो रूपमा प्रभावित गरिरहेको बारे उहाँले चिन्ता व्यक्त गर्नुभयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले भारत र सीमा जोडिएको चीनबिच रहेको भौगोलिक यथार्थलाई पर्यटन अवसरका रूपमा उपयोग गर्नुपर्नेमा बताउनुभयो ।

परराष्ट्र मन्त्रालयका सहसचिव सचिव मणिरत्न शर्माले नेपाललाई विश्वले अझै पनि सगरमाथा र बुद्धका कारण मात्र चिनेको उल्लेख गर्दै अब अन्य पर्यटकीय क्षेत्र र सांस्कृतिक विविधतालाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्नुपर्नेमा जोड दिनुभयो ।