गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ९ गते । काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ उपत्यकामा साइकल लेन निर्माण गर्ने भएको छ । काठमाडौँ उपत्यकाका १८ वटै नगरपालिकालाई एकीकृत रूपमा साइकल लेनबाट जोड्न साइकल लेन निर्माण गर्ने निर्णय भएको हो ।
उपत्यका मेयर्स फोरम बैठकले उपत्यकामा बस्ती बढ्दै गरेको सन्दर्भमा सबै नगरपालिकामा पक्की सडक सञ्जाल भएकाले मोटरसाइकलभन्दा साइकल अझ बढी प्रभावकारी हुने भएकाले साइकल लेन निर्माण गरी स्मार्ट सिटी अवधारणा अनुसार अगाडि बढ्ने निर्णय गरेको हो ।
यस अन्तर्गत पहिलो चरणमा बुढानीलकण्ठको शिवपुरीडाँडादेखि काठमाडौँ र ललितपुर महानगर हुँदै गोदावरीको बोटानिकल गार्डेनसम्मको ‘रुट’ तय गरिएको छ । उपत्यका मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले उपत्यकामा साइकल लेन अभावमा साइकल प्रयोग हुन नसकेको भन्दै साइकल लेन निर्माण गरेपछि मोटरसाइकलको तुलनामा साइकलयात्री वृद्वि हुँदै जाने बताउनुभयो ।
महर्जनले यसलाई ‘सो–केस प्रोजेक्ट’ का रूपमा अघि बढाउन मास्टर प्लान तयार पार्ने निर्णय भएको जानकारी दिनुभयो । सरकारसँग साइकल लेनसम्बन्धी कानुन तत्काल निर्माण गर्न अनुरोध गर्दै यो परियोजना सफल भएपछि अन्य पालिकामा पनि विस्तार गरिने फोरमको योजना छ ।
बैठकले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको सम्पूर्ण आर्थिक भार उपत्यकाका १८ वटै नगरपालिकालाई बाँड्ने निर्णयसमेत गरेको छ । उपत्यकाको फोहोर व्यवस्थापनमा एकल भार बोक्दै आएको काठमाडौँ महानगरसँग उपत्यकाका बाँकी १७ वटै नगरपालिकाले वित्तीय र व्यवस्थापकीय साझेदारी गर्ने निर्णय गरेको छ । फोहोरमैला व्यवस्थापनका लागि अहिले काठमाडौँ महानगरपालिकाले काम गरिरहेको छ । त्यो उपत्यकाभरिका नगरपालिकाको सरोकार भएकाले सबै नगरपालिकाको वित्तीय र व्यवस्थापकीय साझेदारी गर्ने निर्णय गरेको हो ।