जीवछ यादव
लहान, फागुन ८ गते । सिरहा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत भारतीय सीमासँग जोडिएको भागानपुर गाउँपालिका वडा नम्बर ४ ठाडी बजारका मतदाताहरू विगतका अधुरो प्रतिवद्धताका कारण यस पटकको निर्वाचनमा विश्वसनीय प्रतिवद्धता खोजिरहेका छन्।
भगवानपुर वडा नम्बर १ चोकदेखि करिब एक किलोमिटर दक्षिणमा पर्ने ठाडी बजार केही दशक यता सुनसान भएको छ। सीमा पारको भारतीय बजार लौकहामा व्यापार बढेसँगै ठाडी बजारमा व्यवसाय कम भएको स्थानीयहरूले गुनासो गरेका छन्। उनीहरूले उजाड बजारलाई पुरानो स्वरूपमा फर्काउन कृषि, सडक, शिक्षा, स्वास्थ्य र बैंकिङ सुविधासहित ऋण उपलब्ध गराउन माग गरेका छन्।
स्थानीय कृषक जगदीश यादवले भन्नुभयो, “बलान नदीको बाढीका कारण ५० विगहा बढी खेत समयमै खेती योग्य हुँदैन। मलखाद्य सहुलियतमा पाइँदैन। यहाँका किसान नेपाली भएर पनि भारतीय जस्तो व्यवसाय गर्दै छन्। कति सहनु पर्ने?” उहाँले थप्नुभयो ‘‘मतदाता सतही प्रतिवद्धता होइन, विगतमा गरिएका प्रतिवद्धता कार्यान्वयन हुने विश्वास खोज्दै छन्।’’
२०७५ सालको प्रतिनिधि सभाको निर्वाचनमा तत्कालिन नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योगपति विनोद चौधरीले ठाडीमा भन्सार विस्तार, नेपालटार सडक विस्तार र ठाडीलाई हङकङको नमूना बनाउने प्रतिवद्धता दिनुभएको थियो। त्यस बेला स्थानीयले स्वर्गीय प्रदीप गिरीलाई मत दिए पनि प्रतिवद्धता कार्यान्वयन नभएको व्यापारी पवन गुप्ताले बताउनुभयो। उहाँले भन्नुभयो, “ठाडी बजार सुनसान छ। भन्सार समायोजन, क्वारेन्टाइन व्यवस्था र भन्सार विस्तारका लागि खरिद गरिएको चार विगहा जग्गामा काम अगाडि बढ्नुपर्छ।”
अर्का व्यापारी शिवशंकर साहका अनुसार विगतमा चुनाव जितेका रामशंकर यादव, रामचन्द्र यादव र राजलाल यादव बाहेक अन्यले ठाडीका समस्या समाधान गर्नुभएनन्। त्यसैले मतदाता यसपटक अश्वासन होइन, विश्वसनीय प्रतिवद्धता दिने उम्मेदवारको पक्षमा छन्।
२०५७ सालको माओवादी द्वन्द्वपछि नेपाल बैंक ठाडीबाट सरेको थियो, तर पुनः स्थापना भएन। भारतीय बजारसँग प्रतिस्पर्धा नसक्दा ठाडी बजार सुनसान भएको स्थानीय व्यापारीहरूले बताए। यसले व्यापार र कृषि दुबै क्षेत्र प्रभावित भएको छ।
स्थानीय प्राध्यापक कन्हैया भट्टले भन्नुभयो, “शिक्षा, स्वास्थ्य र किनमेलका लागि भारतको बजारमा निर्भरता रहँदा ठाडी बजारको अवस्था अझ समस्याग्रस्त छ। यसपटक मतदाता ठोस र विश्वसनीय प्रतिवद्धतामा केन्द्रित छन्।”