काठमाडौँ, फागुन ८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल परिचालन हुनुपर्ने निर्देशन अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरले दिनुभएको छ।
कार्य विभाग प्रमुख अतिरिक्त महानिरीक्षक ठाडा मगरले फागुन ७ गते सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक, स्वयम्भुबाट भर्चुअल माध्यममार्फत सबै इकाईलाई निर्देशन दिनुभएको हो।
उहाँले निर्वाचन सुरक्षालाई अभियानको रूपमा लिई सशस्त्र प्रहरी कर्मचारीहरूले खटिनुपर्ने बताउँदै, जिल्ला सुरक्षा समितिसँग सहकार्य गरेर भौगोलिक अवस्थाअनुसार योजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ।
ठाडा मगरले फिल्ड तहमा देखिने सुरक्षा चुनौती र समस्याहरू समाधान हुने गरी योजना बनाइ परिचालन गर्न जोड दिनुभयो। साथै सूचना संकलनलाई उच्च प्राथमिकतामा राखेर कार्य गर्न र व्यावसायिक दक्षताको अधिकतम प्रयोग गर्न निर्देशन दिनुभयो।
उहाँले भन्नुभयो, “निर्वाचनमा खटिँदा कुनै प्रकारको गल्ती नहोस् र यदि बल प्रयोगको अवस्था सिर्जना भएमा मानवअधिकारको विशेष ख्याल राख्नुपर्छ।”