शेरबहादुर सार्की
बाजुरा, फागुन ८ गते । बाजुरामा चुनावी सरगर्मी तीव्र बनेको छ । यहाँका सात दल र एक स्वतन्त्र उम्मेदवार आ–आफ्ना अभियान तीव्र पार्दै मतदाता भेटघाट र घरदैलोमा सक्रिय रहेका छन् ।
माघको पहिलो सातादेखि उम्मेदवारहरूले मतदाता भेटेर मत माग्दै आएका छन् । यसपटक उनीहरूले पुराना “जिन्दाबाद–मर्दाबाद” शैलीको प्रचार छोडेर सांस्कृतिक माध्यममार्फत मतदाता रिझाउने नयाँ शैली अपनाएका छन् ।
गाउँ–बस्ती पुगेर देउडा खेल्दै उम्मेदवारले मत माग्ने गरेका छन् । मतदाताले पनि देउडामा उम्मेदवारलाई विकासका काम अघि बढाउन आग्रह गरेका छन् भने उम्मेदवारहरूले आफूलाई जिताएपछि गाउँको विकासमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।
स्थानीय बुदी रावतका अनुसार, “पहिला चुनावी अभियानमा झै झगडा हुने गथ्र्यो, अहिले नेता आएर गाउँमा देउडा खेल्ने भएकाले रमाइलो पनि हुन्छ। देउडा सबैले खेल्छन्, मत दिने कुरा मतदान गर्ने बेलामा सोच्नु पर्छ।”
मतदाता गाउँमा स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, रोजगारी र कृषि क्षेत्रमा विकास हुनुपर्ने अपेक्षा राखेका छन्। उम्मेदवारहरूले त्यसैलाई आफ्नो चुनावी एजेण्डा बनाएर घरदैलोमा पुगेका छन्।
बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी, नेकपा एमालेका लालबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका प्रकाश शाह, रास्वपाका हेमराज थापा, राप्रपा केशरबहादुर शाही, नेकपा (माओवादी केन्द्र)का भूपेन्द्र सी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का दीपक डिसी र स्वतन्त्रः उपेन्द्र शाही चुनावी मैदानमा हुनुहुन्छ।
बाजुरामा ८७,८६१ मतदाता छन् (४५,४२८ पुरुष, ४२,४३१ महिला, अन्य २)। मतदानका लागि ७७ स्टल र ११८ केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अङ्गत महतले जानकारी दिनुभयो।