नेपालगन्ज समाचारदाता
नेपालगन्ज, फागुन ८ गते । बाँके जिल्लामा विभिन्न दलबाट उम्मेदवार बनेकाले आआफ्नो प्रतिबद्धता तथा वाचा सार्वजनिक गर्न थालेका छन् । सो क्रममा बाँके–२ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेककुमार श्रेष्ठले बुधबार आफ्नो वाचापत्र सार्वजनिक गर्नुभएको छ भने बिहीबार एमालेका उम्मेदवार इस्तियाक राईले पनि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । यसअघि सोही निर्वाचन क्षेत्रका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दीपेन्द्र विष्टले सार्वजनिक गरिसक्नुभएको छ ।
बाँके क्षेत्र नं. २ बाट एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले ‘समृद्ध नेपालगन्ज–डुडुवा हाम्रो प्रतिबद्धता’ भन्ने मुख्य नारासाथ प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभयो । उहाँले सार्वजनिक गरेका प्रतिबद्धतामा नेपालगन्जमा क्रिकेट स्टेडियमको निर्माण, नेपालगन्ज–नयाँदिल्ली हवाई उडान, आकासे पुल र रिङरोड निर्माण, डुडुवामा बाढी र डुबान नियन्त्रण, सिँक्टा सिँचाइलाई पाँच वर्षमा सम्पन्न गर्ने, बेतहनी–होलिया–चौफेरी–नरैनापुर जोड्ने सडक र पुल निर्माण तथा राप्ती नदीको पानी नेपालगन्ज पु¥याएर खानेपानी सहज गरिनेलगायतका प्रतिबद्धता प्रमुख रहेका छन् ।
पूर्वमन्त्री राईको प्रतिबद्धतापत्रमा पूर्वाधार तथा सहरी विकास, औद्योगिक, व्यापारिक र रोजगारी, शैक्षिक, स्वास्थ्य, कृषि तथा अनुसन्धान, सामाजिक सुरक्षा, धर्म संस्कृति संरक्षण, पर्यटन, सुशासन र प्रविधि, सामाजिक न्याय तथा समावेशी विकास एवं व्यवस्थित बसोबास शीर्षकमा ११ वटा प्रतिबद्धता राखिएका छन् । त्यसै गरी गरिबी न्यूनीकरण र मानव विकास, शिक्षा र सामाजिक जागरण, धार्मिक सद्भाव र सामाजिक एकता, पर्यटन, सहरी व्यवस्थापन र आर्थिक अवसरसाथै लागुऔषध नियन्त्रण र सुरक्षित समाज शीर्षकमा थप पाँच वटा नीतिगत सुधारसम्बन्धी प्रतिबद्धता पनि प्रतिबद्धतापत्रमा समेटिएका छन् ।
सो अवसरमा बोल्दै उम्मेदवार राईले सङ्घीयतापछि २४ जिल्लाको केन्द्र नेपालगन्जलाई बेवास्ता गरिएको जनाउँदै विराटनगर राजधानी बन्न सक्ने तर नेपालगन्ज नबन्ने कुनै पनि कारण नरहेको बताउनुभयो । आफूले विगतमा सांसद र मन्त्रीको भूमिकामा रहँदा विकासनिर्माणका धेरै काम गरेर देखाएको स्मरण गराउँदै उहाँले फेरि पनि जनताबाट अनुमोदित भएर गएमा नेपालगन्ज र डुडुवाको समृद्धिका लागि बढीभन्दा बढी काम गर्ने बताउनुभयो ।
रास्वपाका उम्मेदवार श्रेष्ठले सार्वजनिक गर्नुभएको वाचापत्रमा भ्रष्टाचार उन्मूलन र सुशासनलाई मुख्य एजेन्डा बनाइएको छ । श्रेष्ठले वाचापत्र सार्वजनिक गर्दै यसमा बाँके जिल्लाको समग्र विकासका लागि गरिने कार्य, बाँके क्षेत्र नं. २ को विकासका लागि गरिने कार्य, लुम्बिनी प्रदेश सरकारसँग समन्वयमा गरिने कार्य, नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय गरेर गरिने कार्य र डुडुवा गाउँपालिकासँग समन्वय गरेर गरिने कार्यको बुँदागत रूपमा योजना समेटिएको बताउनुभयो ।
पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सडक, कृषि, पशुपालन, रोजगारीलगायतका एजेन्डालाई प्राथमिकतामा राखेको जनाउँदै नेपालगन्ज उपमहानगर र डुडुवा गाउँपालिकामा आधारभूत पूर्वाधार सडक, ढल, खानेपानी, भेरी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्न पहल गर्ने उहाँले वाचा गर्नुभएको छ ।
नेपालगन्जलाई पश्चिम नेपालकै प्रमुख स्वास्थ्य हबका रूपमा विकास गर्ने, सीमावर्ती व्यापार, भन्सार र खुला सीमाबाट सृजित चुनौती समाधानका लागि सङ्घीय नीति पहललगायतका योजना समेटिएको बताउनुभयो । सो अवसरमा पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै उम्मेदवार श्रेष्ठले पार्टीले उठाएका एजेन्डा र जनताको माग अनुसार आफूले काम गर्ने बताउनुभयो ।
कृषि, शिक्षा र स्वास्थ्य प्राथमिकतामा
बुटवल समाचारदाताका अनुसार हालसम्म नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाललगायतका राजनीतिक दलका उम्मेदवारले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
नेपाली कांग्रेसका रुपन्देही–२ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने घोषणा गर्नुभएको छ । प्रतिबद्धतापत्रमा उहाँले यस क्षेत्रको दीर्घकालीन समस्या समाधान गर्दै विकास र समुन्नतिको आधार तयार गर्ने योजना अघि सारेको बताउनुभयो ।
उम्मेदवार शर्माले सरकारी विद्यालयको स्तर उकास्दै कक्षा १२ सम्म निःशुल्क शिक्षा सुनिश्चित गर्ने वातावरण बनाउने प्रतिबद्धतासमेत जनाउनुभएको छ । ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण निःशुल्क गरिने तथा स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै उपचार सेवामा सहज पहुँच विस्तार गरिने उहाँको योजना छ ।
यसै गरी रुपन्देही क्षेत्र नं. २ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विश्वदीप पाण्डेले राष्ट्रिय र स्थानीय विकासका लागि चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै हरेक छ महिनामा निर्वाचन क्षेत्रका नागरिकसँग ‘सार्वजनिक संवाद’ गर्ने र संसदीय भूमिकाको ‘रिपोर्ट कार्ड’ प्रत्येक वर्ष सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँको प्रतिबद्धतापत्रमा बुटवल, तिलोत्तमा, सैनामैना र शुद्धोधन क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिने बताउँदै बुटवललाई ‘स्मार्ट सिटी’ र काठमाडौँबाहिरको ‘शैक्षिक राजधानी’ बनाउन पहल गरिने उल्लेख छ ।
रुपन्देही क्षेत्र नं. १ का नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका हिराबहादुर खत्रीले कृषिको विकासलाई प्राथमिकतामा राख्दै शिक्षा र स्वास्थ्यलाई जोड दिने बताउनुभएको छ । उहाँले शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्न संसद्मा कुरा उठाउने भन्दै किसानलाई प्रोत्साहन गर्नका लागि घाँसमा आधारित पशुपालन र उन्नत नस्लका पशुका माध्यमले दुधको लागत मूल्य घटाउने बताउनुभएको छ ।