• ७ फागुन २०८२, बिहिबार

निर्वाचन सुरक्षालक्षित प्रहरी गस्ती

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, फागुन ७ गते । प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिएसँगै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रहरीले बाँकेमा निर्वाचनलक्षित गस्ती तीव्र पारेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार निर्वाचनलाई शान्तिपूर्ण रूपमा सफलताका साथ सम्पन्न गर्न जिल्लाका विभिन्न स्थानको अवस्था बुझ्न र नागरिकलाई सुरक्षा अनुभूति गराउन प्रहरी गस्ती सुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले निर्वाचन नजिकिँदै गर्दा जिल्लाका विभिन्न ठाउँमा सुरु गरिएको प्रहरी गस्तीमार्फत स्थानीयस्तरमा सूचना सङ्कलन गर्ने, जनसम्पर्क अभिवृद्धि गर्ने र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । 

उहाँका अनुसार गस्तीमा रहेको प्रहरी टोलीले विभिन्न स्थानमा पुगेर स्थानीय जनतासँग निर्वाचन र अन्य विभिन्न विषयमा भेटघाट तथा छलफल गर्ने छ । जनमुखी प्रहरी सेवा प्रदान गरी अपराध रोकथाम एवं नियन्त्रणका लागि वस्तुस्थितिसमेत बुझ्ने छ । गस्ती र प्रहरी गतिविधिले जनतामा सुरक्षाको अनुभूति हुनुका साथै देखिएका समस्या र सम्भावित सुरक्षा जोखिमबारे पनि समयमै जानकारी हुने र समाधान गर्न सकिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

विगतका निर्वाचनका बेला सुरक्षा चुनौती देखिएका स्थान र सिमाना नजिकका स्थानलाई विशेष ध्यानमा राखेर सुरक्षा रणनीति तयार पारिएको जिल्ला सुरक्षा समिति बाँकेले जनाएको छ । सोही आधारमा जिल्लामा रहेका १३९ मतदान स्थलमध्ये ६१ वटा मतदान स्थललाई अति संवेदनशील ठहर गरेर ती मतदान स्थलको विशेष सुरक्षा प्रबन्ध मिलाइने जिल्ला सुरक्षा समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताउनुभयो । उहाँले अति संवेदनशील मतदान स्थलको अनुगमन र निरीक्षण गर्ने कार्य पनि गरिरहेको बताउनुभयो ।