गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ७ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य बजारमा नाफा कमाउने बहानामा उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहेको जनाएको छ । विभागले उपत्यकामा गरेको अनुगमनका क्रममा धेरै जसो उद्योगी र व्यवसायीले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ पालना नगरेको र न्यून गुणस्तरका खाद्य वस्तु बिक्रीवितरण गरिरहेको फेला पारेको हो । विभागका अनुसार बजारमा खाद्य मापदण्डविपरीत वस्तुको प्याकेजिङ गर्ने र स्वच्छतामा ध्यान नदिने समस्या बढ्दो देखिएको छ ।
विभागका अनुसार अनुगमनका क्रममा काठमाडौँ चन्द्रागिरि नगरपालिका–१५ मा सञ्चालित एलजी ग्लुकोज प्याकेजिङ उद्योगले सरकारबाट कुनै पनि अनुमति नलिई लामो समयदेखि ग्लुकोज प्याकेजिङ गरेर बजार पठाइरहेको भेटिएको छ ।
विभागका प्रवक्ता डा. बालकुमारी शर्माले विभागमा आएको उजुरीका आधारमा उक्त उद्योगको अनुगमन गर्दा चार सय केजी ग्लुकोज गुणस्तरमा समस्या देखिएपछि कारोबार रोक्का गरिएको बताउनुभयो । विभागले उक्त ग्लुकोजको नमुना सङ्कलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाएको छ भने उद्योगमाथि कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
खाद्य ऐन अनुसार अनुमति नलिई खाद्यपदार्थ बिक्री गर्नेलाई पाँच हजारदेखि पाँच लाख रुपियाँसम्म जरिबाना र पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ । विभागका अनुसार अनुगमनका क्रममा ललितपुरको दरबार क्याफे एन्ड रेस्टुरेन्टमा गरिएको अनुगमनमा भान्सा सरसफाइ निकै कमजोर रहेको, फोहोर फाल्ने डस्टबिन खुला छाडिएको र खानेकुरामा उपभोग्य मितिसमेत उल्लेख नगरिएको पाइएको थियो । मानिसको स्वास्थ्यका लागि हानिकारक मानिने पत्रिकाको कागजमा चाउमिन बेरेर राख्ने गरिएको र बिरियानी पकाउँदा अखाद्य कृत्रिम रङ प्रयोग गरिएको भेटिएको छ ।
विभागले त्यस्ता दुई केजी चाउमिन नष्ट गर्नुका साथै सात दिनभित्र सुधार नगरे थप कारबाही गर्ने चेतावनीसमेत दिएको छ । यसै गरी विभागले काठमाडौँकै शिवशङ्कर स्विट एन्ड चाटमा पनि अनुगमन गरेको थियो, जहाँ भान्साको अवस्था दयनीय पाइएको थियो ।
साथै खानेकुरा प्याक गर्न मसीयुक्त कागज प्रयोग भइरहेको भेटिएपछि विभागले त्यस्ता हानिकारक कागज नष्ट गरिदिएको छ । विभागले व्यवसायीलाई मिठाईजन्य पदार्थमा अखाद्यवस्तु नमिसाउन र तोकिएको मापदण्ड मात्र पालना गर्न निर्देशन दिएको छ ।