• ६ फागुन २०८२, बुधबार

चिकित्सक सङ्घको कार्यकाल थप गर्ने निर्णयप्रति परिषद् सदस्यको फरक मत

blog

काठमाडौँ, फागुन ६ गते । नेपाल चिकित्सक सङ्घको परिषद् बैठकबाट वर्तमान कार्यसमितिको कार्यकाल थप गर्ने निर्णयप्रति केही परिषद् सदस्यहरूले फरक मत राखेका छन् । 

सङ्घको आज बसेको परिषद् बैठकमा नेपाल चिकित्सक सङ्घको वर्तमान कार्यकारिणी समितिको म्याद लम्ब्याउने गरि ल्याइएको प्रस्तावमाथि पाँचजना सदस्यले लिखित रुपमा असहमति जनाएका हुन ।  

फरक मत राख्ने सदस्यमा डा.छवि पन्थी, डा.दीपेन्द्र पाण्डे, डा.अमित उप्रेती, डा.अपिल उप्रेती र डा.सञ्जीतकुमार साह हुनुहुन्छ । पास गर्ने भनिएको निर्णय नेपाल चिकित्सक सङ्घको  विधान २०४७ को विपरीत रहेकोले उहाँहरूले फरक मत राख्नुभएको हो।

वर्तमान कार्यकारिणी समितिको म्याद आगामी २० फागुन देखि सकिदैँछ । म्याद समाप्त हुनु अघि नै निर्वाचनबाट नयाँ कार्यसमिति आउनु पर्ने थियो । तर, त्यसका लागि गठन गरिएको डा.प्रणयरत्न शाक्य नेतृत्वको निर्वाचन समिति ‘अदालती लफडामा परेपछि निर्वाचन स्थगित भएको थियो । 

फरक मत राख्नेहरूले सङ्घको विधान २०४७ को धारा ( झ)मा यदि केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन हुन सकेन र कार्यकाल समाप्त भयो भने सङ्घ सञ्चालन गर्ने सम्पूर्ण जिम्मेवारी परिषदमा रहने व्यवस्था रहेको भन्दै विधानले कार्यसमितिको म्याद थप्ने अधिकार परिषद्लाई नदिएको दावी गरेका छन् ।

उहाँहरुले आगामी २१ फागुन देखि परिषद्का सदस्यहरूमध्येबाट परिषद् कार्यसमिति गठन गरी सङ्घको दैनिक कार्यसञ्चालन र निर्वाचनको प्रक्रिया अघि बढाउन माग गर्नुभएको छ । 

आफ्ना मागको वेवास्ता गरी विधान विपरित कार्य भए नयाँ परिषद् कार्यसमिति गठन गर्न आफूहरू बाध्य हुने समेत सदस्यले चेतावनी दिएका छन् ।उहाँहरुले आफ्नो फरक मतलाई बैठकको माइन्युटमा समावेश गरी वैधानिक प्रक्रिया अवलम्बन गर्न माग गर्नुभएको छ ।