काठमाडौँ, फागुन ६ गते । आधुनिक प्रविधिसँग अनुकूलन हुँदै नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले नवोदित कलेजमा विज्ञान प्रदर्शनी आयोजना गरिएको छ ।
नवोदित कलेज सामाखुशीको आयोजनामा आज भएका प्रदर्शनीमा विज्ञान, व्यवस्थापन, नवीन आविष्कारलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित ३५ कक्ष राखिएका छन् ।
प्रदर्शनीको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले गुणस्तरीय जनशक्ति उत्पादन र समावेशी शिक्षाको प्रवर्धनमा कलेजले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले विद्यार्थीको शैक्षिक तथा व्यावसायिक दक्षता अभिवृद्धि र भविष्य निर्माणमा निरन्तर नगरपालिकाको निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ (हिसान)का उपाध्यक्ष एवम् कलेजका प्राचार्य राजेन्द्र अधिकारीले आजको शिक्षामा नवप्रवर्तन र स्वतन्त्र सोच आवश्यक रहेको बताउनुभयो ।
उहाँले सिकाइले विद्यार्थी आत्मनिर्भर बन्न, स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म प्रतिस्पर्धी बन्न, व्यावहारिक सिकाइलगायत सकारात्मक नतिजाका लागि प्रदर्शनी अत्यन्त प्रभावकारी माध्यम रहेको उल्लेख गर्नुभयो ।
कलेजका सहप्राचार्य जिवी अधिकारीले प्रदर्शनीले विद्यार्थीलाई सिक्ने, आफ्नो प्रतिभा प्रदर्शन गर्ने र प्रतिस्पर्धी बन्ने अवसर प्रदान गरेको धारणा राख्नुभयो ।
उक्त प्रदर्शनीमा ‘फुड कोर्ट’, ‘हेल्थ डेक्स’ र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । काठमाडौँभित्रका एक दर्जनभन्दा बढी विद्यालयका विद्यार्थीले प्रदर्शन अवलोकन गरेका छन् । रासस