रमेश विश्वकर्मा
गुल्मी, फागुन ५ गते । आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गुल्मीमा १७ सयभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा निर्वाचन सम्पन्न गर्न कुल १७ सय सात कर्मचारी परिचालित हुने भएका हुन् । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकाका ९३ वडामा १४५ मतदानस्थल र २८४ मतदान केन्द्र रहेका छन् ।
ती केन्द्रमा निर्वाचन सम्पन्न गर्न सो सङ्ख्यामा कर्मचारी परिचालन गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय, गुल्मीका प्रमुख निर्वाचन अधिकारी ऋषिराम घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्र नम्बर १ मा ८३ मतदानस्थल र १५५ मतदान केन्द्र कायम गरिएको छ । यस्तै क्षेत्र नम्बर २ मा ६२ मतदानस्थल र १२९ मतदान केन्द्र रहेका छन् । जिल्ला कारागार गुल्मीमा एउटा अस्थायी मतदान केन्द्र समेत कायम गरिएको छ ।
प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी परिचालन गरिनेछ । त्यसैगरी अस्थायी मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र एक जना सहयोगी कर्मचारी रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसअनुसार मतदान अधिकृत २८५, सहायक मतदान अधिकृत २८५, सहायक कर्मचारी ८५२ र सहयोगी कर्मचारी २८५ जना परिचालित हुनेछन् ।
निर्वाचनका लागि जिल्लास्थित विभिन्न सरकारी कार्यालय र स्थानीय तहमा कार्यरत कर्मचारी तथा शिक्षकलाई खटाउन लागिएको हो । यसैगरी मतपत्र बदर हुन नदिन जिल्लाका ९३ वटै वडामा मतदाता शिक्षाका लागि ९३ जना स्वयंसेवक परिचालन गरिएको छ । फागुन १७ गतेसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रममार्फत स्वयंसेवकले निर्वाचन प्रक्रिया, मतदान गर्ने विधि, मत बदर हुने अवस्था र मतदानको महत्त्वबारे टोलटोलमा पुगेर जानकारी गराउने बताइएको छ ।
मतदाता शिक्षाका लागि महिला स्वास्थ्य स्वयंसेविका, मातृशिशु कार्यकर्ता र बालविकास सहजकर्तालाई परिचालन गरिएको छ । जिल्लामा कुल मतदाताको सङ्ख्या दुई लाख २९ हजार ५४९ रहेको छ । जसमा महिला एक लाख १५ हजार २१०, पुरुष एक लाख १४ हजार ३३७ र अन्य दुई जना रहेका छन् । सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीतर्फ एक हजार ६९५ र सशस्त्र प्रहरीतर्फ १७९ जना जनशक्ति छनोट गरी सम्बन्धित क्षेत्रमा खटाइएको छ । मतपत्रबाहेकका अन्य निर्वाचन सामग्री जिल्ला आइपुगेको कार्यालयले जनाएको छ ।
जिल्ला सुरक्षा समितिले विगतका निर्वाचनका गतिविधि, भौगोलिक विकटता, सञ्चार र यातायातको पहुँच तथा सुरक्षा संवेदनशीलताका आधारमा मतदानस्थलको वर्गीकरण गरेको छ । जसअनुसार ४८ मतदानस्थल अतिसंवेदनशील, ५७ संवेदनशील र ४० मतदानस्थल सामान्य सूचीमा रहेका छन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न मतदानस्थलको निरन्तर निरीक्षण तथा अनुगमन भइरहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो ।