टोपलाल अर्याल
गुल्मी, फागुन ५ गते। गुल्मी जिल्ला विद्युतको राष्ट्रिय प्रसारणसँग जोडिएको छ। उनायचौर–पौदी–बुर्तिबाङ खण्डको परीक्षण सफल भई सेवा सुरु भएको हो। सोही अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयोजनाको अनुगमन तथा निरीक्षण गर्नुभएको छ।
निरीक्षणका क्रममा कार्यकारी निर्देशक शाक्यले राष्ट्रिय प्रसारणसँग जोडिनु जिल्लाका लागि निकै महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले विद्युत् अभावमा रोकिएका उद्योग कलकारखानामा लगानी बढाएर पहाडबाट हुने बसाइसराइ रोक्नु नै प्राधिकरणको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो। यसले अवसरका ढोका खोलेकाले यसको सदुपयोग गरी आर्थिक समृद्धिका काममा लाग्न उहाँले उद्योगी, व्यवसायी तथा लगानीकर्तालाई आग्रह गर्नुभयो।
प्राधिकरणको लगानीको उद्देश्य देशको अर्थतन्त्रमा टेवा पुर्याउनु रहेकाले पहाडी जिल्लामा कृषिमा आधारित साना, मझौला र ठुला उद्योगको सम्भावना बढेको उहाँको भनाइ थियो। राष्ट्रिय प्रसारण लाइनले जिल्लामा पटक–पटक विद्युत् अवरुद्ध हुने समस्याको अन्त्य गर्नुका साथै आर्थिक समृद्धिको आशा जगाएको उहाँले बताउनुभयो।
रेसुङ्गा नगरपालिका–७, उनायचौर सब स्टेसनदेखि बागलुङ बुर्तिबाङसम्मको १३२ केभी राष्ट्रिय प्रसारण लाइन दुई दिन परीक्षण गरी सञ्चालनमा ल्याइएको हो। यस प्रसारण लाइन अन्तर्गत गुल्मीको उनायचौर र मुसिकोट नगरपालिका–१, पौदी अमराईमा गरी दुई वटा सब स्टेसन रहेका छन्। कपिलवस्तुको मोतीपुरदेखि सन्धिखर्क–तम्घास–बुर्तिबाङसम्म करिब ८६ किलोमिटर दूरीमा पाँच वटा सब स्टेसन र २४८ वटा टावर निर्माण गरिएको आयोजना प्रमुख इन्जिनियर मनोज चौधरीले जानकारी दिनुभयो।
उहाँका अनुसार अहिलेसम्म ४ अर्ब ७ करोड ६१ लाख ६२ हजार ७३५ रुपियाँको लागतमा सब स्टेसन र प्रसारण लाइन विस्तार भएको छ। आयोजनामा नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले लगानी गरेका छन्।
आयोजना प्रमुख चौधरीले एउटै जिल्लामा राष्ट्रिय प्रसारण लाइनका दुई वटा सब स्टेसन रहनु गुल्मीका लागि विशेष अवसर भएको बताउनुभयो। उहाँले भन्नुभयो, “आयोजनाको सफल परीक्षण गर्न पाएकामा हामी खुसी छौँ, त्योभन्दा बढी भाग्यमानी गुल्मेली नागरिक छन्, जहाँ एउटै जिल्लामा दुई वटा सब स्टेसन निर्माण भएका छन्।”
कुनै समय टुकी बालेर चुनावी अभियान सञ्चालन गर्नुपर्ने क्षेत्रमा अहिले राष्ट्रिय प्रसारण पुग्नु सुखद विषय भएको पूर्व ऊर्जामन्त्री गोकर्ण विष्टले बताउनुभयो। आफूले सुरु गरेको महत्त्वपूर्ण आयोजना सफल हुँदा गर्वको अनुभूति भएको बताउँदै उहाँले अब उद्योगमार्फत जनताको आर्थिक समृद्धिका लागि काम गरिने प्रतिबद्धता जनाउनुभयो।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि नागरिकलाई मात्र नभई सरकारी काममा समेत सहजता आएको बताउनुभयो। विद्युत् अनियमित हुँदा सरकारी कार्यालयको सेवा प्रवाहमा समस्या हुने गरेकोमा अब ठुलो राहत मिलेको उहाँको भनाइ छ।