• ५ फागुन २०८२, मङ्गलबार

सव-इन्जिनियर हत्याको विरोधमा सर्लाहीका सरकारी कार्यालय ठप्प

blog

जिल्ला प्रशासन कार्यालय, सर्लाही । फाइल तस्बिर

जनार्जन खत्री

सर्लाही, फागुन ५ गते। पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सव-इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको विरोधमा सर्लाहीका सम्पूर्ण सरकारी कार्यालयको कामकाज मङ्गलबार ठप्प पारिएको छ।

सरकारी कार्यालयमा कार्यरत कर्मचारीले शान्ति सुरक्षा र मृतक सव-इन्जिनियर यादवलाई सहिद घोषणा गर्न माग गर्दै एक दिनका लागि जिल्लाभरका कार्यालयको कामकाज ठप्प पारेका हुन्। ३६ वर्षीय यादवको आइतबार बेलुका ८ बजेतिर मलङ्गवा नगरपालिका–१०, देवीटोलस्थित डेरामा गोली प्रहार गरी हत्या भएको थियो।

सिरहाको सुखीपुर नगरपालिका–९, बैसाखा घर भएका यादवको हत्या रहस्यमय देखिएको छ। प्रहरीले मङ्गलबार दिउँसोसम्म घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन।

आन्दोलित कर्मचारीले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन्। कर्मचारी मिलन केन्द्र सर्लाहीसहित विभिन्न कर्मचारी सङ्घ–सङ्गठनले संयुक्त विज्ञप्ति निकाली साङ्केतिक रूपमा मङ्गलबार कार्यालय बन्द गरिएको र माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।

कर्मचारी मिलन केन्द्र सर्लाहीका सचिव दिलीपकुमार थापाले प्रत्येक कार्यालयमा सेवा बन्द गरेर कालो ब्यानरसहित प्रदर्शन गरिएको जानकारी दिनुभयो। सव-इन्जिनियर यादवको परिवारलाई सोमबार बेलुका मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले भेट गर्नुभएको थियो।

उहाँले जिल्ला प्रहरी प्रमुखसहित अन्य प्रहरी अधिकारीलाई तत्काल दोषी पक्राउ गर्न र घटनाको गम्भीर ढङ्गले अनुसन्धान गर्न निर्देशन दिनुभएको छ। सर्लाही प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काले सव-इन्जिनियर यादवको हत्यामा संलग्न व्यक्तिहरूको खोजी जारी रहेको बताउनुभयो। उहाँका अनुसार यादवमाथि गोली प्रहार हुनुको कारण अझै खुल्न सकेको छैन।