• ५ फागुन २०८२, मङ्गलबार

झापाका छ स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली तैनाथ

blog

मङ्गलबार बिहान बिस्फोटक पदार्थ जस्तो गरेर झापाको कन्काई पुलमा राखिएको सामाग्री ।

विष्णुप्रसाद पोखरेल 

दमक, फागुन ५ गते ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापाका विभिन्न स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली तैनाथ भएका छन् ।

सम्भावित आपराधिक गतिविधि र विस्फोटक जोखिम न्यूनीकरणका लागि पूर्वतयारी स्वरूप यो व्यवस्था गरिएको हो । हालसम्म जिल्लाका छ स्थानमा बम डिस्पोजल टोली तैनाथ भइसकेको जिल्ला सुरक्षा समितिका संयोजक एवं झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।

 यसका साथै निर्वाचन नजिकिँदै जाँदा थप स्थानमा यस प्रकारको टोली परिचालन गरिने विषयमा छलफल भइरहेको छ।जिल्लामा संवेदनशील मानिएको चन्द्रगढी विमानस्थल र झापा कारागारमा सेनाले सुरक्षा दिन थालिसकेको छ । 

विमानस्थल र कारागारमा एकएकवटा नफ्री (इनफिल्ड रेस्पोन्स इन्फ्यान्ट्री) परिचालन भएको हो ।गेलालका अनुसार जिल्लाको सुरक्षा अवस्था दर्बिलो बनाइएको छ । गत माघ २१ गतेदेखि सेना संयुक्त सुरक्षा गस्तीमा निस्कन शुरु गरेको थियो ।

मेजरको कमान्डमा झापा क्षेत्र नम्बर ५ को सुरक्षाका लागि दमकमा, झापा ४ का लागि सुरुङ्गामा, झापा ३ का लागि चन्द्रगढीमा सीओबी स्थापना गरिएको छ ।

 झापा १ र २ नम्बर क्षेत्रको सुरक्षा भने अरिदमन गणबाटै समन्वय हुने व्यवस्था  मिलाइएको सुरक्षा श्रोतको भनाइ छ । गेलालका अनुसार जिल्लाका १६ स्थानमा पोस्ट अपरेटिङ बेस (पीओबी) स्थापना गर्ने तयारी गरिएको छ । 

जिल्लाका हरेक मतदान केन्द्रमा २० मिनेटभित्र सहजै फौज पुग्ने गरी परिचालन योजना बनाइएको छ ।जिल्लामा निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न मतदान स्थललाई तीन तहमा वर्गीकरण गरेर सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको उहाँ बताउनुहुन्छ । 

जिल्लाका २८५ मतदानस्थलमध्ये ९५ स्थल अतिसंवेदनशील, १४७ संवेदनशील र ४३ सामान्य श्रेणीमा राखिएका छन् ।