• ५ फागुन २०८२, मङ्गलबार

माओवादीको कार्यकर्ता भन्दै चन्दा सङ्कलन गर्ने पक्राउ

blog

सन्तोष सुवेदी 

कास्की, फागुन ५ गते ।जिल्ला प्रहरी कार्यालय कास्कीले जबरजस्ती चन्दा सङ्कलन गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिई गएको विशेष प्रहरी टोलीले तनहुँको व्यास नगरपालिका १३ छाब्दी बस्ने ३२ वर्षीय अग्नि भन्ने लक्ष्मण पाण्डे र कास्कीको माछापुच्छ्रे गाउँपालिका २ का ३७ वर्षीय भीमसेन परियार पक्राउ गरेको हो । 

पाण्डे नेकपा बहुमतको केन्द्रीय सदस्य र परियार सेक्रेटरी भएको कास्की प्रहरीले जनाएको छ ।उनीहरूले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई बिथोल्न कास्की जिल्लास्थित विभिन्न स्थानमा ‘हामी माओवादीका कार्यकर्ता हौँ’ भनी डरधाक धम्की दिइ गैरकानूनी रूपमा चन्दा सङ्कलन गरेको प्रहरीको भनाइ छ । 

उनीहरूको साथबाट रसिदको प्याड, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) जिल्ला समिति कास्की पत्र संख्या २०८२÷०८३, आर्थिक सहयोग सम्बन्धमा उल्लेख भएको सेक्रेटरी क.वृन्दाको हस्ताक्षर भएको पत्र, नगद २३ हजार रुपैयाँ पनि बरामद गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

कास्की जिल्ला अदालतबाट चन्दा ऐन सम्बन्धी कसुरअन्तर्गत पाँच दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।