सन्तोष सुवेदी,
पाख्रीबास, (धनकुटा) फागुन ५ गते । जिल्ला प्रहरी कार्यालय धनकुटाले चोरी, बेवारिसे तथा स्वामित्व नखुलेका तीन दर्जन सवारीका साधन लिलाम बिक्री गरेको छ ।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी सार्वजनिक लिलामीमार्फत बिक्री गरिएको हो ।जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार चालु आर्थिक वर्षमा चोरी, बेवारिसे तथा स्वामित्व नखुलेका सवारीका साधन लिलाम बिक्री गरिएको हो ।
उहाँले ३५ वटा मोटरसाइकल र एक वटा स्कुटर गरी जम्मा ३६ वटा लिलाम बिक्री गरेको जानकारी दिनुभयो ।उक्त लिलाम बिक्रीबाट एक लाख ८० हजार छ सय रुपियाँ राजश्व सङ्कलन भएको उहाँले बताउँनुभयो ।
लामो समयसम्म दाबी गर्न कोही नआएका तथा कानुनी रूपमा स्वामित्व नखुलेका सवारी साधनहरू सम्बन्धित ऐन नियम बमोजिम मूल्याङ्कन गरी लिलाम गरेको उहाँले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार सार्वजनिक सूचना प्रकाशन, मूल्याङ्कन तथा आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र लिलाम प्रक्रिया अघि बढाउन पाइने व्यवस्था छ । सबै कानुनी प्रक्रिया टुङ्ग्याए पश्चात् मात्रै व्यवस्थापन गरिएको उहाँको भनाइ छ ।
चोरी, बेवारिसे तथा स्वामित्व नखुलेका सवारी साधन लामो समयसम्म राख्दा संरक्षण साथै व्यवस्थापनमा गर्न समस्या हुने भएकाले सम्बन्धित कानुनी प्रक्रिया पूरा गरी लिलामीमार्फत व्यवस्थापन गरि लिलाम बिक्री गरिएको प्रहरी उपरीक्षक थापा क्षेत्रीले बताउँनुभयो । उक्त लिलामबाट प्राप्त रकम सरकारी राजश्व खातामा जम्मा गरिनेछ ।