हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), फागुन ४ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३,छोन्हुपमा कृषकले पालेको १८ वटा च्याङ्ग्रा हिउँ चितुवाले आक्रमण गरेर मार्यो । अत्याधिक चिसोसँगै बासस्थानमा आहाराको अभावमा भौतारिँदै आएको चितुवाले गोठभित्र प्रवेश गरी च्याङ्ग्रा क्षति पुर्याएको छ । तारबारसहितको पर्खाल नाघेर खोरभित्र पसेको चितुवालेघाइते बनाएको च्याङ्ग्रासहित करिब नौ लाखको क्षति भएको अनुमान गरिएको छ ।
शिकार प्रजातिका बन्यजन्तु चरन क्षेत्रमा आहारा प्रजातिको जनावर नभेटिएपछि बस्ती आसपासका क्षेत्रमा प्रवेश गरी पशुचौपायालाई क्षती पुर्याएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय लोमान्थाङ प्रमुख उमेश पौडेलले बताउनुभयो । एक्यापले मङ्सिर, पुस र माघ महिनामा हिउँ चितुवा र तिब्वती ब्यासोले पशुचौपाया मारेको खवरसँगै विवरण सङ्कलन गरिरहेको छ ।
प्रमुख पौडेलले भन्नुभयो, ‘‘पशुचौपायालाई गोठालाले जोगाउन हम्मेहम्मे परेको छ, पक्की संरचनाभित्र भएकालाई कम क्षति पुगेको छ ।’’ उपल्लो लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका अधिकांस पशुपालक कृषक चिसो छल्न बेँसी झरेको अवस्थामा चितुवा र ब्वासोको आतङ्कबाट पशुचौपाया जोगाउन समस्या भइरहेको अवस्थामा एक्यापले समेत बस्तीस्तरमा पुगेर विभिन्न कार्यक्रम गर्ने गरेको छ ।
यता तल्लो मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फाका पशुपालक कृषक सन्तोष परियारको गोठमा रहेको १७ वटा भेडा मारेको छ । गएको मङ्सिर २६ गते परियारकै गोठमा रहेका १६ भेडा, तीन वटा च्याङ्ग्रा चितुवाले मारेको थियो । आहाराको खोजीमा बस्तीभित्र रहेका च्याङ्ग्राको खोरमा निशाना बनाएर आउने हिमचितुवाले साना कृषकको खोर नै रित्तो बनाउने गरेको छ । उच्च हिमाली क्षेत्रमा बासस्थान हुने हिउँ चितुवाले आफ्नो मुख्य आहार झारल, नाउर, मृग फेला नपारेपछि मानवबस्ती छेउमै आएर च्याङ्ग्रा, घोडा, याक, चौरी लगायत घरपालुवा जनावरलाई आहारा बनाउने गरेको एक्याप जोमसोमका प्रमुख राजेश गुप्ताको भनाइ छ ।
एक्यापले हिउँ चितुवाबाट घरपालुवा जनावर जोगाउनका लागि आधुनिक सुरक्षित गोठ निर्माणसम्बन्धी तालिमसहित विभिन्न सुरक्षाका उपायहरूका बारेमा जानकारी गराएपछि बन्यजन्तुको आक्रमणबाट मरेकालाई बर्षेनी क्षतिपूर्ती दिने गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३३ ‘क’ले दिएको अधिकार प्रयोग गरी वन्यजन्तु क्षति निर्देशिकाका आधारमा प्रहरी, संरक्षण व्यवस्थापन समिति र पशु भेटेरिनरी अस्पतालका पशु चिकित्सक लगाएको उपस्थिति क्षति लागत अनुमान गरी राहत वितरण गर्ने गरिन्छ । उपल्लो मुस्ताङमा हिम चितुवा, तिब्बती ब्वासो र तल्लो मुस्ताङमा हिमचितुवासँगै कालो भालुबाट धेरै किसानको पशुचौपायामा क्षति हुने गरेको छ ।