• ४ फागुन २०८२, सोमबार

मतदाता शिक्षा कार्यक्रम सुरु

blog

तस्बिर : एआई

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ४ गते । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्ष्य गरी निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । आइतबारदेखि देशभरि एकैसाथ उक्त कार्यक्रम सुरु गरिएको आयोगले जनाएको छ । 

पछिल्ला निर्वाचनमा बदर मतको सङ्ख्या बढ्न थालेपछि मतदाता शिक्षालाई आयोगले प्रभावकारी रूपमा सञ्चालन गर्न लागेको हो । विसं २०४८ यताका निर्वाचनमा २०७९ मङ्सिरको निर्वाचनको बदर मत प्रतिशत सबैभन्दा बढी ५.१९ र २०५६ को निर्वाचनमा सबैभन्दा कम २.७५ प्रतिशत थियो । 

मतदाता शिक्षा कार्यक्रम ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा सञ्चालन हुने छ । हरेक वडामा मतदाता शिक्षाका लागि एक/एक जना महिला स्वयंसेविका परिचालन गरिएको आयोगले जनाएको छ । महिला स्वयंसेवकले आममतदाताका बस्ती र घरदैलोमा पुगेर नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराउने छन् । मतदातालाई सही तरिकाले मतदानका लागि तयारी अवस्थामा राख्न निर्वाचन आयोग र उसको स्वीकृतिमा अन्य संस्थाद्वारा मतदाता शिक्षा सञ्चालन गरिएको हो । मतदाता शिक्षाले मतदातालाई मतदान गर्ने सही तरिका सिकाउनुका साथै मतदानको महत्वबारे समेत बोध गराउने आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले बताउनुभयो । 

तुलाधरका अनुसार मतदाता शिक्षा निर्वाचन कार्यक्रमसँग सम्बन्धित हुन्छ । मतदानमा मतदाताको धेरैभन्दा धेरै सहभागिताका लागि मतदाता शिक्षा प्रदान गर्न लागिएको हो । मतदाता शिक्षा छापा माध्यम, रेडियो, टेलिभिजन, घरदैलो, आमपहुँच कार्यक्रम, सामाजिक सञ्जाललगायतका माध्यमबाट सबै मतदाता समेटने गरी बृहत् रूपमा सञ्चालन गर्ने आयोगले जनाएको छ । 

आयोगले मतदाता शिक्षालाई उच्च प्राथमिकता दिँदै बहुआयामिक रणनीति अवलम्बन गरेको बताउँदै निर्वाचत आयुक्त तुलाधरले भन्नुभयो, “स्थानीय तह, सञ्चार माध्यम तथा अनलाइन प्लेटफर्महरूसँग सहकार्य गरिएको छ । मिडिया सेन्टर र डिजिटल मतदाता शिक्षा एकाइमार्फत नियमित रूपमा मतदाता शिक्षासम्बन्धी सामग्री उत्पादन, प्रकाशन तथा प्रसारण भइरहेको छ ।” त्यसबाहेक आयोगले सामाजिक सञ्जाल, निर्वाचन ई–बुलेटिन र प्रेस विज्ञप्तिमार्फत जानकारी प्रवाह गरिरहेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले आफ्नै वेबसाइट, टिकटक, फेसबुक पेजलगायतका माध्यमबाट पनि मतदाता शिक्षालाई प्रवर्धन गरिरहेको छ । “स्थानीय तहमा स्वयंसेविकामार्फत मतदाता शिक्षा र सचेतना अभिवृद्धि गर्ने नीतिगत निर्णयसमेत गरिएको छ । मतदाता शिक्षा प्रभावकारी बनाउन हामी फरक ढङ्गले लागेका छौँ । आयोग यस विषयमा दत्तचित्त भएर लागेको छ ।”

प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको आयोगका प्रवक्ता भट्टराईले बताउनुभयो । आमनागरिकलाई मताधिकारको महत्व र मतदान प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रम अनुसार मतदाता शिक्षा कार्यक्रम अगाडि बढाइएको आयोगले जनाएको छ । यो कार्यक्रम फागुन १७ सम्म सञ्चालन हुने छ । 

मतदाता शिक्षा कार्यक्रममा सहयोग, समन्वय र सहजीकरणका लागि सातै प्रदेश सरकार, सबै स्थानीय तह, निर्वाचनको प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालालाई आयोगले अनुरोध गरेको छ ।