• ३ फागुन २०८२, आइतबार

चीन-जर्मनी सम्बन्ध ‘नयाँ उचाइ’ तर्फ

blog

म्युनिख, फागुन ३ गते । युरोपेली सङ्घ (इयु)ले चीन र संयुक्त राज्य अमेरिका दुवैप्रति आफ्नो निर्भरता पुनःमूल्याङ्कन गरिरहेका बेला बेइजिङले जर्मनीसँगको सम्बन्धलाई ‘नयाँ स्तरमा’ पुर्याउने स्पष्ट सङ्केत दिएको छ । 

चीनका विदेशमन्त्री वाङ यीले जर्मन चान्सलर फ्रेडरिक मेर्जसँग भेटवार्ता गर्दै द्विपक्षीय रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउन चीन इच्छुक रहेको बताउनु भएको छ । बेइजिङको विदेश मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार वाङले ‘सर्वाङ्गीण रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउन’ जर्मनीसँग मिलेर काम गर्ने अपेक्षा व्यक्त गर्नुभयो । 

उहाँले बर्लिनको सहयोगमा उच्चस्तरीय आदान-प्रदानको अर्को चरणको तयारी गर्न चाहेको पनि स्पष्ट गर्नुभयो । चीनले आफूलाई इयुका लागि स्थिर र भरपर्दो साझेदारका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको सन्दर्भमा यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । युरोपेली मुलुक एकातिर चीनसँगको आर्थिक सम्बन्ध सन्तुलित बनाउन र अर्कातिर अप्रत्याशित अमेरिकी नीतिबाट दूरी कायम गर्न खोजिरहेका छन् ।

यद्यपि पछिल्ला वर्षमा अनुचित व्यापार अभ्यास, संरक्षणवाद र बजार पहुँच सम्बन्धी विवादले दुई देशबीचको गहिरो आर्थिक सम्बन्धमा चिसोपन आएको छ । यसै सन्दर्भमा मेर्ज यही महिनामा चीनको औपचारिक भ्रमण गर्ने तयारीमा रहनु भएको बताइएको छ । भ्रमणका क्रममा विकसित व्यापारिक सम्बन्धलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रमुख मुद्दा रहने अपेक्षा गरिएको छ ।

वाङले जर्मनीलाई आफ्नो ‘रणनीतिक स्वायत्तता र आत्मनिर्भरता’ कायम राख्न प्रोत्साहन दिँदै चीन-युरोप सहकार्यमा जर्मनीले प्रेरक शक्ति बन्न सक्ने उल्लेख गर्नुभयो । साथै उहाँले जर्मनीलाई रणनीतिक सम्बन्धका लागि ‘विश्वसनीय सहारा’ को भूमिकामा देख्न चाहेको धारणा व्यक्त गर्नुभयो ।

यसअघि जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले डिसेम्बरमा बेइजिङ भ्रमण गरी वाङलगायत चिनियाँ अधिकारीसँग भेटवार्ता गर्नु भएको थियो । उक्त भेटमा उहाँले युक्रेनमा जारी रुसको युद्ध अन्त्य गर्न चीनले आफ्नो प्रभाव प्रयोग गर्नुपर्ने विषय उठाउनु भएको थियो । वाडेफुलको अघिल्लो चीन भ्रमण भने अन्तिम समयमा रद्द भएको थियो, किनकि जर्मनीले उच्च अधिकारीसँग भेटघाटको सुनिश्चितता गर्न नसकेको जनाएको थियो । रासस/एएफपी