• १५ वैशाख २०८१, शनिबार

योगदानकर्ता सापटी निर्देशिका स्वीकृत

blog

काठमाडौँ, साउन २ गते । सामाजिक सुरक्षा कोषका योगदानकर्ता लक्षित ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आइतबार उक्त निर्देशिका स्वीकृत  गर्नुभएको हो । 

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र नियमावली, २०७५ अनुसार सरकारले स्वीकृत गरेको सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७ को व्यवस्थाबमोजिम उक्त निर्देशिका तयार गरिएको कोषले जनाएको छ ।

कोषका निर्देशक विवेक पन्थीले कोषमा लगातार तीन वर्ष योगदान गरेका र निर्देशिकाले तोेकेको मापदण्ड पूरा गरेका योगदानकर्ताले यही महिनादेखि उक्त सेवा लिन सक्ने जानकारी दिनुभयो । उहाँका अनुसार सेवाका लागि योग्य भएका योगदानकर्तालाई अनलाइन विधिबाट सेवा प्रवाह प्रारम्भ गरिनेछ ।

उक्त निर्देशिकामा ‘योगदानकर्ता घर सापटी’अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, घर मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था छ । निर्देशिका अनुसार कोषमा कम्तीमा तीन वर्ष योगदान गरेका योगदानकर्ताले कोषबाट सापटी लिन पाउनेछन् । 

यस्तै कोषमा रकम जम्मा गरेका, उमेर र सेवा अवधिका आधारमा अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्तालाई सापटी प्रदान गर्न सकिने व्यवस्था कोषमा गरिएको छ । घर सापटी स्वीकृत गर्दा धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी रकम स्वीकृत हुनेछ । त्यसका लागि तीन प्रकारका विधिमध्ये जुन विधिमा रकम कम हुन्छ, त्यसअनुसार सापटी प्रदान गर्न सकिने व्यवस्था निर्देशिकामा छ । 

निर्देशिकाले ती तीन विधामध्ये पहिलो विधिअनुसार धितोका आधारमा ७५ लाख रुपियाँ, दोस्रोमा योगदानकर्ताको १५ वर्षको तलब र तेस्रोमा योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी अवधिको तलबका आधारमा सापटी दिन सकिने व्यवस्था गरेको छ ।

शैक्षिक सापटी 

निर्देशिकाले योगदानमा आधारित सामाजिक सुरक्षामा योगदान गर्नेले शैक्षिक सापटी सेवा लिन सक्ने व्यवस्था गरिएको छ । कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिका आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको हो । 

उक्त निर्देशिकाअनुसार यस प्रकारको सापटी योगदानकर्ता वा निजका पति, पत्नी, छोरा, छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन प्रयोजनका लािग सापटी प्रदान गर्न सकिने उल्लेख छ । उक्त रकम ३५ लाख रुपियाँ वा सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक खर्चमध्ये कम हुने रकम दिइने व्यवस्था निर्देशिकामा गरिएको छ ।

सो निर्देशिकाअनुसार विद्यार्थीको भर्ना शुल्क, मासिक, परीक्षा, छात्रावास खर्च वा आवास खर्च, सम्बन्धित शिक्षण संस्थाले तोकेको अन्य शुल्क, शैक्षिक सामग्री खर्च, भ्रमण तथा बीमा खर्च उक्त सापटीमा रहने व्यवस्था गरिएको छ । एक पटक लिएको सापटी चुक्ता गरिसकेका योगदानकर्ताले शैक्षिक सापटीबापत पुनः अर्को सापटी पनि लिन सक्ने व्यवस्था कोषले गरेको छ । कोषले हाल निजी क्षेत्रको औपचारिक क्षेत्रमा कार्यरत श्रमिकका लागि मात्रै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमार्फत सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गरिरहेको छ । 

कोषका अनुसार योगदानमा आधारित सुरक्षा कोषमा हालसम्म १७ हजार १९२ रोजगारदाता र तीन लाख ४६ हजार ७४४ जना योगदानकर्ता सूचीकृत भइसकेका छन् । कोषमा हालसम्म २१ अर्ब आठ करोड रुपियाँ बराबरको योगदान रकम जम्मा भइसकेको छ । कोषका अनुसार यिनै योगदान गरेकाहरूले निर्देशिकाले तोकेको मापदण्ड पूरा गरेकाले कोषको उक्त सापटी सेवा लिन लिन सक्नेछन् ।