• ६ वैशाख २०८१, बिहिबार

तरकारीलाई दैनिक पाँच रुपियाँ !

blog

काठमाडौँ, साउन २ गते ।  अब त पाँच रुपियाँमा एक मुठा हरियो धनियाँ पनि पाइँदैन । फोसामा खुर्सानी माग्दा तरकारी बिक्रेताले आँखा तरेर हेर्न थाल्छन् । अनि एक छाक तरकारी पाँच रुपियाँमा पाक्ला त ? तर तीनधारा पाकशालामा आवासीय रूपमा बस्दै आएका विद्यार्थीलाई अझै पनि तरकारीबापत दैनिक पाँच रुपियाँ खान्की तोकिएको छ ।

सुरुदेखि नै ती विद्यार्थीका लागि दाल, भात, तरकारी र दैनिक एक तोला घिउको खान्की कायम रहँदै आएको छ । दाल र भात नेपाल संस्कृत विश्वविद्यालयले नै ठेकेदारमार्फत उपलब्ध गराउने गरेको छ भने तरकारी र घिउका लागि पाकशालालाई रकम उपलब्ध गराइन्छ । दैनिक एक तोला घिउका लागि २५ रुपियाँ उपलब्ध गराइन्छ । बजारमा प्रतिकेजी घिउलाई सरदर एक हजार दुई सय रुपियाँ पर्छ । सो मूल्यअनुसार एक तोला घिउलाई करिब १४ रुपियाँ पर्छ । 

तीनधारा पाकशालाका सुपरिवेक्षक डा. प्रकाश ढकालले बिहान–साँझको दुई छाक खानामा तरकारी र घिउका लागि दैनिक ३० रुपियाँ उपलब्ध हुँदै आएको बताउँदै भन्नुभयो, “तरकारी र घिउका लागि दिइएको रकम मिलाएर छाकको १५ रुपियाँले पुग्ने तरकारी खुवाउने गरिएको छ । महँगो तरकारी किन्न पुग्दैन । सस्तो सस्तो तरकारी खोज्नुपर्छ ।” घिउ खान चाहने विद्यार्थीले घरबाटै ल्याएर आउनुपर्ने हुन्छ । तरकारीमा हाल्ने मरमसला पनि त्यही रकमबाट पु¥याउनुपर्ने हुन्छ । धीरशमशेरले १९३८ सालमा संस्कृत पाठशालाका विद्यार्थीका लागि पाकशालाको व्यवस्था गरिदिएका थिए । उनका छोरा वीरशमशेरले थप विद्यार्थीका लागि आवास र खानाको प्रबन्ध गरिदिए । त्यो बेला १०८ जना विद्यार्थीको दरबन्दी कायम थियो । राणाकालमा तीनधारा पाकशालालाई ‘गुठी’ भन्ने चलन थियो । गुठीमा बस्न त्यो बेला प्रधानमन्त्रीसम्मको ‘सोर्स’ चाहिन्थ्यो । 

उमानाथ आचार्यले चन्द्रशमशेरलाई दाम राखेर दर्शन गरेपछि “सरकार, म त विदेश पढ्न जाने भएँ, मेरो साथमा एउटा भाइ छ, त्यो अलपत्र पर्ने भयो, गुठीमा १०८ नम्बर खाली छ, त्यहीँ सिटमा भर्ना गर्ने प्रबन्धका लागि हुकुम प्रमाङ्गी पाऊँ” भने ।  चन्द्रशमशेरले कारिन्दा सुब्बा ज्वालाप्रसादलाई ‘ल तुरुन्त गर्दे’ भनेर हुकुम प्रमाङ्गी गरिदिएपछि तुरुन्त आठपहरिया दौडेर पाकशालामा पुगी ‘राजाको हुकुम छ, त्यो विद्यार्थीलाई १०८ नम्बरमा भर्ना गरिदिनू’ भनेर तामेली गरेर गए भनी राणाकालीन शिक्षा नामक पुस्तकमा प्रसङ्ग उल्लेख छ ।

पाकशालामा रानीपोखरीस्थित संस्कृत माध्यमिक विद्यालयका कक्षा आठ–१० का विद्यार्थीका लागि ४७ कोटा र प्रदर्शनी मार्गस्थित वाल्मीकि विद्यापीठ (क्याम्पस)का विद्यार्थीका लागि ६९ कोटा तोकिएको छ । अहिले संस्कृत माविका ३० र विद्यापीठका ३० जना विद्यार्थी पाकशालामा छन् । 

नजिकै तीनवटा धारा भएको ढुङ्गेधारा रहेकाले पाकशाला तीनधाराका नामले प्रख्यात भयो । त्यसलाई अचेल तीनधारा पाठशाला पनि भन्ने गरिएको पाइन्छ । पाकशालामा रहँदै आएका विद्यार्थीले इच्छा राख्दैमा मासबाहेकका दाल खान पाउँदैनन् । “ठेकेदारले मासको दाल उपलब्ध गराउँछ,” पाकशालाका सुपरिवेक्षक डा. ढकालले भन्नुभयो, “विश्वविद्यालयबाट नै मासको दालको ठेक्का भएकाले अरू दाल आउँदैन । त्यसैले ३६५ दिन नै बिहान–बेलुका मासको दाल पाक्छ ।”

१९४३ सालमा निर्माण भएको पाकशाला भवन जीर्ण हुँदै गएको छ । भान्छा त्यति सुग्घर छैन । सुरुदेखि नै ब्राह्मण जाति मात्र बस्न पाउने र अनिवार्य रूपमा धोती लगाएर खाना खानुपर्ने चलन थियो । मुलुकमा गणतन्त्र स्थापनापछि धोती लगाउनुपर्ने चलन हट्यो ।  अहिले विद्यार्थी सर्ट पाइन्ट लगाएर पिर्कामा बसेर खाना खाने गर्छन् । गणतन्त्रपछि अरू जातिलाई पनि खुला गरियो र दलित विद्यार्थी पनि छन् । हरेक वर्ष विद्यार्थीलाई एक जोर धोती दिने चलन पनि हट्यो । सिरक र डस्ना दिने चलन पनि गणतन्त्रपछि हटाइयो ।