• २ फागुन २०८२, शनिबार

कुशल महिला नेचर गाइड सीता

blog

बर्दिया राष्ट्रिय निकुञ्जमा विदेशी पर्यटकसँगै नेचर गाइड सीता चौधरी । तस्बिरः सन्तोष दहित

सन्तोष दहित
दाङ, फागुन २ गते ।
प्रकृतिसँग आत्मिय सम्बन्ध गाँस्न सक्ने मानिसहरू बिरलै भेटिन्छन् । त्यसमा पनि महिला गाइड, त्यो पनि जङ्गली जनावर र जङ्गलसँग एकरूप भएर बाँच्ने, झन् दुर्लभ दृश्यजस्तै लाग्छ । तर बर्दिया ठाकुरद्वाराकी सीता चौधरी त्यही दुर्लभ पात्र हुनुहुन्छ । जो प्रकृतिसँग संवाद गर्नुहुन्छ । अनि जङ्गल, जङ्गली जीव, जनाबरसँग रमाउनुहुन्छ । उहाँ एक कुशल नेचर गाइड, साहसी अन्वेषक र प्रतिभाशाली वन्यजन्तु फोटोग्राफर पनि । एक दशकदेखि उहाँले बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकलाई जङ्गलका अद्भुत कथा सुनाउँदै निुकुञ्जमा डुलाउनु हुन्छ ।

थारू समुदायमा जन्मेकी सीताको बाल्यकाल नै जङ्गलकै छेउमै बित्यो । निकुञ्जकै छेउमा हुर्केकी उहाँलाई बाल्यकालदेखि नै गैँडा, बाघ, पंक्षी आकर्षणको विषय थिए । यही लगावले उहाँलाई प्रकृतिसँग सम्बन्धित पेशातर्फ प्रेरित गरायो । सुरुमा स्थानीय स्वयंसेवकका रूपमा काम गरेकी उहाँले पछि औपचारिक गाइड तालिम लिई पेशागत रूपमा निकुञ्जभित्र सेवा दिन थाल्नुभएको छ । उहाँसँगै अन्य पाँच जना लेडिज साथीहरु पनि हुनुहुन्छ । तर धेरै जसो पर्यटकहरुले उहाँ सीतालाई नै खोज्छन् ।

सहज संप्रेषण गर्ने शैली र बाघ, गैँडा, हरिणदेखि चराचुरुङ्गीको जीवनशैलीमा राम्रो ज्ञान भएको कारण उहाँ सवैको रोजाइमा पर्नुहुन्छ । थारू, नेपाली र अङ्ग्रेजी तीन वटै भाषाको दख्खल सीता निकुञ्ज भित्रका धेरै जनावरको विषयमा पनि उत्तिकै अब्बल हुनुहुन्छ । विदेशी पर्यटकहरूलाई उहाँले सजिलै गरी अङ्ग्रेजीमा भाषामा त्यहाँको अवस्थाको विषयमा जानकारी गराउनुहुन्छ । जङ्गलमा देखिएका जनावरबारे उहाँले तथ्यपूर्णसहित बाघ, गैँडा, हरिणदेखि चराचुरुङ्गीको जीवनशैली विषयमा जानकारी गराउनुसँगै त्यहाँ घुमाउने गर्नुहुन्छ । त्यसैले आन्तरिक तथा बाह्रय पर्यटकहरूले उहाँलाई “स्मार्ट गाइड” भनेर सम्बोधन गर्छन् ।

गाइडिङसँगै सीता फोटोग्राफीमा पनि उत्तिकै सिपालु हुनुहुन्छ । बिहान सबेरै हातमा क्यामेरा लिएर उहाँ पर्यटकहरुलाई घुमाउदै जङ्गल पस्नुहुन्छ । फुर्सदको समयमा उहाँले विभिन्न जनावर चराचुरुङ्गीको तस्विर कैद गर्नुहुन्छ । तस्बिरहरूमा बाघको दृष्टि, हातीको चाल र चराको उडान जीवन्त रूपमा देखिन्छ । “फोटो भनेको जङ्गलको आवाज हो, उहाँले भन्नुभयो, शब्दले भन्दा बढी भाव बोल्छ ।” उहाका तस्बिरहरूले बर्दियाको जैविक विविधता र प्राकृतिक सुन्दरता झल्काउँछन् ।

पर्यटकको रोजाइअनुसारको वन्यजन्तु देखाउन पाउँदा पर्यटक खुसी हुने गरेको उहाँले बतानुभयो । “कतिपय पर्यटकले पहिलो पटक आफूलाई घुमाएको नेचर गाइड नै फेरि रोज्ने गरेका छन्,” सीता भन्नुभयो, “आफूले गरेको कामबाट खुसी नै महसुस हुन्छ ।” सीताको समर्पण र मेहनतले उहाँलाई निकुञ्जभित्र मात्र होइन, बाहिर पनि चिनाएको छ । महिला भएर पनि उहाँले जङ्गलभित्रको चुनौतीपूर्ण पेशा अंगाल्नुभउको छ । पर्यटकहरु मात्र नभई निकुञ्चज भित्रका कर्मचारी, स्थानीय समेत उहाँको कामबाट प्रेरित छन् । “जङ्गल, पर्यावरण, जीव, जनबार हाम्रो सम्पत्ति हुन्, उहाँले भन्नुभयो, यसको संरक्षण, प्रवर्धन गर्न हामी सबैको जिम्मेवारी हो ।”

थारु समुदायकी छोरी सीताले बर्दियामा पर्यावरण संरक्षण, सामुदायिक पर्यटन र महिला सशक्तीकरणको उदाहरण स्थापित गर्नुभएको छ । उहाँको मुस्कानले बर्दियामापर्यटकहरूलाई स्वागत गर्छ भने उहाँको क्यामेराले प्रकृतिको सौन्दर्य, जनाबर तथा पक्षी तस्बिमा कैद गर्दै निकुञ्जको कथा सुनाउनमा पनि उत्तिकै सहयोग पुर्‍याउदै आएको छ ।