विष्णुप्रसाद पोखरेल
दमक, फागुन २ गते । आगामी २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नं. ५ मा निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेको छ । विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत मतदाताको गोपनीयता भङ्ग गर्ने, कसलाई भोट दिने भनेर प्रत्यक्ष प्रश्न गर्ने, प्रसारण गर्ने तथा मतदातालाई प्रभाव पार्ने उद्देश्यले सामग्री प्रसारण गर्ने प्रवृत्ति तीव्र बन्दै गएको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट समेत चासोका साथ हेरिएको झापा क्षेत्र नं. ५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह, नेपाली कांग्रेसकी नेतृ मन्धरा पौड्याल नेकपाका नेता रञ्जित तामाङ, राप्रपाका लक्ष्मी सङ्ग्रौला, श्रम संस्कृति पार्टीका समीर तामाङलगायतका उम्मेदवार चुनावी मैदानमा रहेका छन् । यहाँ एमाले अध्यक्ष ओली र रास्वपा वरिष्ठ नेता शाहबिच मात्र निर्वाचन भएको जस्तो प्रचार हुँदै आएको छ । यसले गर्दा अन्य उम्मेदवारले पनि आचारसंहिताका विषयमा कुरा उठाउँदै आएका छन् । निर्वाचन आचारसंहितामा उल्लेख भए अनुसार मतदाताको गोपनीयता पूर्ण रूपमा सुरक्षित हुनुपर्ने व्यवस्था छ तर पछिल्ला दिनमा केही अनलाइन पोर्टल, युट्युब च्यानल र सामाजिक सञ्जाल प्लेटफर्ममा मतदातालाई ‘कसलाई भोट दिने ?’ भन्ने प्रत्यक्ष प्रश्न सोधिएका भिडियो सार्वजनिक भइरहेका छन् । मतदानपूर्व कुनै पनि मतदातालाई कसलाई मतदान गर्ने भनेर सोधेर सार्वजनिक गर्नु, मतदातालाई प्रभाव पार्ने उद्देश्यले प्रचारात्मक सामग्री तयार गर्नु वा झुटा तथा भ्रामक सामग्री प्रसारण गर्नु आचारसंहिताविरुद्धको कार्य मानिने जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउनुभयो ।
सामाजिक सञ्जालको तीव्र प्रयोग र अनलाइन प्लेटफर्मको विस्तारसँगै अनुगमन चुनौतीपूर्ण बनेको उहाँले स्वीकार गर्नुभयो । झापामा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै पक्षको जिम्मेवारीपूर्ण भूमिकाको खाँचो देखिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यस्तो अवस्था यसभन्दा अघि थिएन । हामी यसलाई रोक्नका लागि लागेका छौँ र यसमा सबैको सहयोग चाहिन्छ ।”
कतिपयले त मतदानअघि नै मत सार्वजनिक गराउने गरी प्रश्न सोध्ने र त्यसलाई भाइरल बनाउने प्रवृत्ति बढ्नु निकै खतरनाक भएको निर्वाचन पर्यवेक्षक समिति झापाका सचिव दीपक दासको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, “यसरी आचारसंहिताविपरीत मतदाताको गोप्य मतका विषयमा बाहिर सार्वजनिक गराइएको यो पहिलो पटक हो । यस्ता गतिविधिले मतदातामाथि मनोवैज्ञानिक दबाब सिर्जना पुग्न जान्छ ।” उल्लेख नगर्ने सर्तमा झापा क्षेत्र नं. १ की एक महिला मतदाताले भन्नुभयो, “मैले सामान्य रूपमा आफ्नो धारणा राखेको थिएँ । त्यसलाई काँटछाँट गरेर सामाजिक सञ्जालमा राखियो । त्यसपछि विभिन्न समूहका मानिसले अश्लील र अपमानजनक टिप्पणी गर्न थाले । मानसिक तनावका कारण अहिले सामाजिक सञ्जाल नै चलाउन छाडेको छु ।
विशेष गरी झापा क्षेत्र नं. ५ मा उम्मेदवारबिच कडा प्रतिस्पर्धा रहेको भन्दै सामाजिक सञ्जालमा मतदाताका अभिव्यक्तिलाई राजनीतिक रङ दिँदै एकअर्कामाथि आव्रmमण गर्ने व्रmम बढेको छ । मतदाताले राखेका व्यक्तिगत रायलाई विपक्षी समर्थकले तोडमोड गरी अश्लील टिप्पणी गर्ने, धम्कीपूर्ण सन्देश पठाउने र समूहगत रूपमा ट्रोल गर्ने प्रवृत्ति देखिएको छ । यसले स्वतन्त्र रूपमा विचार व्यक्त गर्ने अधिकारमै असर परेको बताउन थालिएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कार्य नगर्न पटक पटक आग्रह गर्दै आएको छ । प्रशासनले विज्ञप्ति जारी गरी मतदाताको गोपनीयता भङ्ग गर्ने, भोट माग्ने शैलीमा प्रत्यक्ष प्रभाव पार्ने वा सामाजिक सञ्जालमा दुष्प्रचार गर्ने कार्य नगर्न चेतावनी दिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल त्यस्ता गतिविधिमा संलग्न नहुन बारम्बार आग्रह गरिएको छ । उहाँले भन्नुभयो, “गुनासो धेरै आएका छन् र हामीले त्यस विषयमा छानबिन पनि गरिरहेका छौंँ ।” दुई जना साहयक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृतका रूपमा खटाइएको र यस्तो कार्य रोक्नका लागि प्रयास भइरहेको पनि उहाँले बताउनुभयो ।
पत्रकार महासङ्घ झापाका सभापति एकराज गिरीले सञ्चार माध्यम र पत्रकारले निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने दायित्व सम्झाउँदै आएको भए पनि व्यवहारमा कमजोरी देखिएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचनका समयमा पत्रकार र सञ्चार माध्यमले अझ बढी जिम्मेवार हुनु पर्छ ।” झापाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालतका मुख्य न्यायाधीश उमेशप्रसाद लुइटेलले पनि आचारसंहिता पालना गर्न सबै पक्षलाई पटक पटक आग्रह गरिएको बताउनुभयो ।