विनय कर्ण
कल्याणपुर (सप्तरी), फागुन १ गते । सप्तरीको १८ वटा स्थानीय तहमध्ये कार्यसम्पादन मूल्याङ्कनमा सुरुङ्गा नगरपालिका प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको स्थानीय सरकारको कार्य सम्पादन मूल्याङ्कनको नतिजामा सुरुङ्गा प्रथम भएको हो । यस्तै तिलाठी कोइलाडी गाउँपालिका दोस्रो स्थानमा रहेको छ ।
सुरुङ्गाले सबैभन्दा बढी ६५ दशमलव ३८ अङ्क प्राप्त गरी प्रथम भएको छ भने तिलाठी कोइलाडी ६३ दशमलव २३ अङ्क प्राप्त गरी दोस्रो स्थानमा रहेको हो ।
जिल्लाको ९ वटा नगरपालिकामा सुरुङ्गा प्रथम भएको छ भने ९ वटा गाउँपालिकातर्फ तिलाठी कोइलाडी प्रथम भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्य सम्पादन मूल्याङ्कनको नतिजामा उल्लेख छ ।
नगरपालिकाहरुतर्फ बोदे बर्साइनले ६२ दशमलव ९४, सप्तकोशीले ५२ दशमलव ४७, खड्कले ५० दशमलव ५५, हनुमाननगर कंकालिनीले ४६ दशमलव ६४, कंचनरुपले ४४ दशमलव ८३, डाक्नेश्वरले ४२ दशमलव १९, राजविराजले ३९ दशमलव ३९ र शम्भुनाथ नगरपालिकाले ३७ दशमलव ५६ अङ्क प्राप्त गरेको हो ।
नगरपालिकातर्फ सबैभन्दा बढी सुरुङ्गाले ६५ दशमलव ३८ अङ्क प्राप्त गरेको छ भने सबैभन्दा कम शम्भुनाथ नगरपालिकाले ३७ दशमलव ५६ अङ्क प्राप्त गरेको छ ।
जिल्लाको सदरमुकाम राजविराज नगरपालिकाले भने आठौं स्थानमा रहँदै ३९ दशमलव ३९ अङ्क प्राप्त गरेको छ ।
यसैगरी, राजगढले ५६ दशमलव ८२, महादेवाले ४७ दशमलव ८८, विष्णुपुरले ४७ दशमलव ८६, छिन्नमस्ताले ४६ दशमलव ६४, बलान बिहुलले ४६ दशमलव ३१, रुपनीले ४३ दशमलव २०, तिरहुतले ४२ दशमलव ९४ र अग्नीसाइर कृष्णासबरणले ३८ दशमलव ८१ अङ्क प्राप्त गरेको आयोगले सार्वजनिक गरेको नतिजामा उल्लेख छ ।
गाउँपालिकातर्फ सबैभन्दा कमजोर अग्नीसाइर कृष्णासबरण गाउँपालिकाको कार्यसम्पादन देखिएको छ ।