टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), फागुन १ गते । गुल्मीमा नयाँ पुरानाबिच चुनावी सरगर्मी बढ्दै गएको छ । एमालेको केन्द्रीय उपाध्यक्ष गोकर्ण बिष्ट गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नु भएको छ ।
उहाँ २०५६ सालको निर्वाचनदेखि अहिलेसम्म चुनावी मैदानमा हुनुहुन्छ । बिष्ट २०६४ बाहेका सबै निर्वाचनमा विजयी हुँदै आउनु भएको छ । उहाँले नयाँभन्दा नतिजा भन्दै सांसद र मन्त्री हुँदा राष्ट्रिय रुपमा श्रम, रोजगार तथा उर्जासहित निर्वाचन क्षेत्रमा गरेका विकासका काम देखाएर भोट मागिरहनु भएको छ । विगतका मतदाताका मागका आधारमा सडक, खानेपानी, विद्युतीकरण, खरका छाना विस्थापन, बिद्यालय तथा स्वास्थ्यचौकी र अस्पताल भवन निर्माण ठूलो फड्को मारेकाले बाँकी अधुरा योजना र आगामी आर्थिक सामाजिक विकासको लागि बिष्टले मत मागिरहनु भएको छ ।
त्यस्तै गुल्मी क्षेत्र नम्बर १ बाट नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँ २०५६ सालदेखि अहिलेसम्म हरेक निर्वाचनमा उम्मेदवार हुनुहुन्छ । ज्ञवाली २०५६, ०६४ र ०७४ को निर्वाचनमा विजयी बन्नु भएको थियो । मदनभण्डारी राजमार्ग, रेसुङ्गा विमानस्थल, कालीगण्डकी करिडोरसहित मन्त्री र प्रतिनिधि सभा सदस्य हुँदा गरेका काम र राष्ट्रिय जनजिविकाका मुद्दा लिएर आम कार्यकर्ता माझ ज्ञवालीले भोट मागिरहनु भएको छ ।
त्यस्तै, कांग्रेस नेता डा. चन्द्र भण्डारीले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । भण्डारी २०७० देखि अहिलेसम्म चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । जसमा २०७० र २०७९ सालमा विजयी बन्नु भएको थियो । उहाँले दुई पटक प्रतिनिधि सभामा हुँदा गरेका काम र आम नागरिकका आर्थिक समाजिक विषयहरुलाई लिएर घरदैलोमा हुनुहुन्छ । उहाँले गाउँमा उत्साह र प्रश्न दुवै रहेको बताउनुभयो । जनताको बाँदर समस्यादेखि स्वास्थ्य र शिक्षामा आमुल परिवर्तनको लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीबाट नेता सूदर्शन बरालले उम्मेदवारी दिनुभएको छ । उहाँ २०६४ सालदेखि प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिस्पर्धा गर्दै आउनु भएको छ । बराल २०६४ सालमा प्रतिनिधि सभा र २०७४ सालमा लुम्बिनी प्रदेश सभामा निर्वाचित हुनु भएको थियो । प्रतिनिधि सभा र प्रदेशको अनुभव भएकाले आम कार्यकर्तामा आफुलाई विजयी बनाउने अभिलासाका साथ विगतमा गरेर काम र भावी योजनाको फेरिस्त बताउँदै गाउँ–गाउँमा हुनुहुन्छ ।
गुल्मी क्षेत्र नं २ मा नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ प्रतिनिधि सभामा पहिलो पटक प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँ २०७४ सालमा रेसुङ्गा नगरपालिकाको प्रमुख र २०७९ को लुम्बिनी प्रदेश सभामा पराजित हुनुभएको थियो ।
उहाँ लामो राजनीतिक अनुभव र कार्यकर्ताहरुकोबिचमा भिजेकाले सोही अनुसार माया र सद्भाव खोज्दै चुनावी अभियान अगाडि बढाउने मनस्थितिमा हुनुहुन्छ । नेपाली कम्युनिस्ट पार्टीबाट श्रीराम महत प्रनिनिधि सभा निर्वाचनको प्रतिस्पर्धामा उत्रिनु भएको छ । प्रतिनिधि सभा निर्वाचन उहाँका लागि पनि नयाँ हो । महत २०७९ सालको स्थानीय तहको निर्वाचनमा मुसिकोट नगरपालिका उपप्रमुखमा पराजित हुनु भएको थियो । युवा र काम गर्ने अठोटनै महतको भोट माग्ने आधार हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गुल्मी क्षेत्र नं १ मा सागर ढकाल र क्षेत्र नम्बर २ मा गोबिन्द पन्थीले प्रतिनिधि सभा उमेदवारको लागि उम्मेदवारी दर्ता गर्नु भएको छ । ढकाल गत निर्वाचनमा शेरबहादुर देउवासँग प्रतिनिधी सभाका लागि प्रतिस्पर्धा गरेको अनुभव छ । भने पन्थी लामो समय नेपाल प्रहरीमा काम गरेर अवकास लिनुभएको छ । उहाँको निर्वाचन पहिलो अनुभव हो । रास्वपाका दुवै योजनाले बालेललाई प्रधानमन्त्री बनाउने, विकास र सुशासनमा पुराना दलले केही नगरेको आलोचना गर्दै भोट मागिरहनुभएको छ ।