नवीनराज कुइँकेल
लमजुङ, फागुन १ गते । लमजुङ सदरमुकाममा रहेको बेँसीशहर नगरपालिकाले कार्य सम्पादनमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कनमा बेँसीशहर नगरपालिका उत्कृष्ट बन्न सफल भएको हो ।
बेँसीशहरले गण्डकी प्रदेशभर तेस्रो र नेपालमै १६ औँ स्थान हासिल गर्न सफल भएको छ । गत वर्ष २०८०/०८१ मा पनि बेँसीशहर नगरपालिकाले ७४ दशमलव ७ प्रतिशत अङ्क प्राप्त गरी जिल्लामा पहिलो स्थानमा हासिल गरेको थियो । जिल्लाका आठवटा स्थानीय तहमध्ये बेसीशहर नगरपालिकाले ७६ दशमलव ३० प्रतिशत अङ्क प्राप्त गरी पहिलो स्थानमा रहेको छ । दोर्दी गाउँपालिकाले ६९ दशमलब ८६ प्रतिशत अङ्क प्राप्त गरी दोस्रो र मर्स्याङ्दी गाउँपालिका ६९ दशमलव ५६ प्रतिशत अङ्कका साथ तेस्रो स्थानमा आएको छ ।
यस्तै, सुन्दरबजार नगरपालिकाले ६६ दशमलव ०४ अङ्क, क्व्होलासोँथार गाउँपालिकाले ६२ दशमलव अङ्क, राइनास नगरपालिकाले ५६ दशमलव ७२ अङ्क, मध्यनेपाल नगरपालिकाले ५२ दशमलव ९० र दुधपोखरी गाउँपालिकाले ४० दशमलव ८४ अङ्क प्राप्त गरेका छन् । आर्थिक वर्षको राजस्व र आय–व्ययको अनुमान समयमा नगर तथा गाउँसभामा पेस गरे÷नगरेको देखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाए नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कमा मूल्याङ्कन हुने गर्दछ ।
बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले सुशासन र पारदर्शितालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दा परिणाम राम्रो आएको बताउनुभयो । उहाँले भन्नुभयो, “समन्वय, पूर्वाधार, न्यायिक कामहरु राम्रो गरेका छौँ । नीति, नियम, कानुनबमोजिमकै कामहरु गरिरहेका छौँ । अझै राम्रो गर्ने प्रयास गर्छौँ ।’’
मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ र दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले आफ्नो पालिकालाई उत्कृष्ट बनाउन र नागरिकको सेवामा हरपल क्रियाशिल रहेको बताउनुभयो ।