प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन १ गते । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कनमा सल्यानको छत्रेश्वरी गाउँपालिका जिल्लामै प्रथम भएको छ । गाउँपालिकाले ७२ दशमलव २५ अङ्क प्राप्त गर्दै जिल्लाभरिका स्थानीय तहमध्ये उत्कृष्ट प्रदर्शन गरेको हो ।
आयोगद्वारा प्रकाशित प्रतिवेदनअनुसार बनगाड कुपिण्डे नगरपालिकाले ६६ दशमलव ९७ अङ्कसहित दोस्रो स्थान हासिल गरेको छ भने कालिमाटी गाउँपालिकाले ६६ दशमलव ७१ अङ्क ल्याउँदै तेस्रो स्थान प्राप्त गरेको छ। कपुरकोट गाउँपालिकाले ६४ दशमलव ५२ अङ्क, दार्मा गाउँपालिकाले ६३ दशमलव ४२ अङ्क तथा शारदा नगरपालिकाले ६१ दशमलव १२ अङ्क प्राप्त गरेका छन् ।
त्यसैगरी बागचौर नगरपालिकाले ५७ दशमलव ५८, त्रिवेणी गाउँपालिकाले ५५ दशमलव ८९, लसिकुमाख गाउँपालिकाले ५३ दशमलव ५२ र कुमाख गाउँपालिकाले ५२ दशमलव ५२ अङ्क प्राप्त गरेका छन् ।
आयोगले वित्तीय अनुशासन, योजना कार्यान्वयनको अवस्था, पारदर्शिता, सुशासन, राजस्व सङ्कलन, सार्वजनिक उत्तरदायित्व, संस्थागत क्षमता विकास तथा सेवा प्रवाहको प्रभावकारितालगायत १७ सूचकका आधारमा स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन गरेको जनाएको छ ।
छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले उक्त उपलब्धि समग्र गाउँपालिकाको प्रतिबद्धता, समन्वय र सामूहिक टिमवर्कको परिणाम भएको बताउनुभयो। उहाँले यस नतिजाले संस्थागत क्षमता अभिवृद्धि, सुशासन प्रवर्धन तथा सेवा प्रवाहलाई अझ नतिजामुखी र पारदर्शी बनाउने दिशामा थप ऊर्जा मिलेको उल्लेख गर्नुभयो । गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले स्थानीय सरकारप्रति नागरिकको विश्वास मजबुत बनाउन पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहमा जोड दिइने जानकारी दिनुभयो ।
दोस्रो स्थान हासिल गरेको बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थीले प्राप्त नतिजाले आगामी दिनमा थप मेहनत र सुधारका लागि प्रेरणा मिलेको बताउनुभयो । उहाँले सेवा प्रवाहलाई अझ प्रभावकारी र नागरिकमैत्री बनाउनेतर्फ नगरपालिकाले ध्यान केन्द्रित गर्ने उल्लेख गर्नुभयो। नगर प्रमुख कर्णबहादुर बुढाथोकीले समयमै योजना कार्यान्वयन र वित्तीय अनुशासन कायम गर्न सहयोग गर्ने कर्मचारी तथा जनप्रतिनिधिप्रति आभार व्यक्त गर्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले कार्यसम्पादन मूल्याङ्कनले स्थानीय तहहरूबिच सकारात्मक प्रतिस्पर्धा सिर्जना गरेको बताउनुभयो । उहाँले प्राप्त सुझावका आधारमा कमजोरी सुधार गर्दै आगामी वर्षमा अझ राम्रो नतिजा हासिल गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
आयोगको मूल्याङ्कन नतिजाले जिल्लाका स्थानीय तहहरूबीच सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहतर्फ प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सरोकारवालाहरूको भनाइ छ । आयोगले मूल्याङ्कन गर्दा वित्तीय अनुशासन, योजना कार्यान्वयन, पारदर्शिता, सुशासन, सेवा प्रवाह, राजस्व सङ्कलन, सार्वजनिक उत्तरदायित्व र संस्थागत क्षमता विकाससम्बन्धी १७ सूचक प्रयोग गरेको छ ।
प्रतिवेदनअनुसार स्थानीय तहहरूले पेश गरेका विवरण, बजेट कार्यान्वयन, आय–व्यय प्रक्षेपण, घरजग्गा, मनोरञ्जन र विज्ञापन करको संग्रह, सुत्र प्रणाली प्रयोग, योजना तर्जुमा, विद्यार्थी भर्ना र टिकाउ दर, स्वास्थ्य र खोप अनुपात लगायतका सूचकका आधारमा अङ्क निर्धारण गरिएको थियो ।