• २९ माघ २०८२, बिहिबार

‘अफ्रिकन स्वाइनफिभर’को जोखिम बढेपछि उच्च सतर्कता अपनाउन आग्रह

blog

काठमाडौँ, माघ २९ गते ।कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हाल सुङ्गुर र बङ्गुरमा अफ्रिकन स्वाइनफिभरको जोखिम रहेकाले सम्बन्धित किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

अहिलसम्म रोगविरुद्धको कुनै खोप उपलब्ध नभएकाले सुङ्गुर र बङ्गुरपालन फार्ममा जैविक सुरक्षा अपनाउन तथा अस्वाभाविक रूपमा सुङ्गर, बङगुर मरेमा तत्काल सङ्घ, प्रदेश र स्थानीय तहमा रहेका पशु सेवा केन्द्र वा सम्बन्धित निकायलाई खबर गर्न मन्त्रालयले आग्रह गरेको हो ।

घरपालुवा सङ्गुर, बङ्गुर तथा जङ्गली बँदेल प्रजातिमा विषाणुका कारण अफ्रिकन स्वाइनफिभर लाग्ने भएकाले ती पशुमा उच्च ज्वरो (१०४ देखि १०७ डिग्री) आउने, कान पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुनेलगायत लक्षण देखिन्छ ।

पशुको शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छट्पटाउने गर्दछन् । यसबाट पशुको मृत्युदर उच्च हुने भए पनि पशुबाट मानिसमा भने नसर्ने मन्त्रालय अन्तर्गत कृषि, सूचना तथा प्रशिक्षण केन्द्रका डा. सञ्जीव पण्डितले बताउनुभयो ।

उहाँका अनुसार केन्द्रले सङ्क्रमण फैलिन नदिन किसानलाई आवश्यक सतर्कता अपनाउन सन्देशमूलक सूचना प्रवाह गरेको छ।यस्ता लक्षण भएका सुङ्गुर, बङ्गुर तथा त्यसका पाठापाठी वा अन्य पशुको सम्पर्कमा आएमा मासुजन्य वस्तु एक स्थानबाट अर्को स्थानमा ओसारपसार गर्ने क्रममा सजिलै सङ्क्रमण फैलिने जोखिम भएकाले उच्च सर्तकता अपनाउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।

तीन वर्षअघि नेपालमा पहिलो पटक अफ्रिकन स्वाइनफिभरको सङ्क्रमण फेला परेको केन्द्रले जनाएको छ। काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा दस हजार भन्दाबढी सुङ्गुर तथा बङ्गुरमा सङ्क्रमण फैलिएको जनाइएको छ । रासस