नागेन्द्रकुमार कर्ण
महोत्तरी, माघ २९ गते। महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-४, मझौरामा बिहीबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई बालिकाको ज्यान गएको छ।
यसरी मृत्यु हुनेमा मटिहानी नगरपालिका–४, मझौरा बस्ने वर्ष ७ की फरहाना खातुन तथा जिल्ला सिराहा, सिराहा बस्ने वर्ष ८ की रजिया खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। दुबै बालिका एउटै घरका रहेको जनाइएको छ। रजिया मझौरास्थित मामाको घरमा आएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले प्रारम्भिक अनुसन्धानमा खेत जोत्ने क्रममा ट्याक्टरको रोटावेटर पल्टिएर दुबै बालिका किचिएको देखिएको बताउनु हुँदै अनुसन्धान भइरहेको बताउनुभयो।
बिहीबार दिउँसो ज. १ त. ९७८२ नम्बरको ट्याक्टरमा रोटा वेटर लगाएर खेत जोतिरहेको अवस्थामा रोटावेटर पल्टिएर दुर्घटना भएको देखिएको बताउनु हुँदै प्रवक्ता भट्टले थप जानकारी अनुसन्धानपछि भन्न सकिने बताउनुभयो। टयाक्टरमा दुवै बालिका बसिरहेको बेला एक्कासी दुर्घटना हुन पुगेको जनाइएको छ।
घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको छ। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर लग्ने तयारी भइरहेको बताउनुभयो। ट्याक्टर चालक फरार रहेको र खोजतलास भइरहेको छ।
यसैबिच, मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डल घटनाको जानकारी पाएपछि घटनास्थल पुगेर जानकारी लिनुभएको छ। उहाँले ट्याक्टरको रोटा वेटरमा किचेर बालिकाको मृत्यु भएको देखिएको बताउनुहुँदै प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभयो।