• २९ माघ २०८२, बिहिबार

नेपालगन्जको पुँजीगत खर्च १० प्रतिशत मात्र

blog

धारणा राख्नुहुँदै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, माघ २९ गते । नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म पुँजीगततर्फ १० दशमलव ४३ प्रतिशत मात्र बजेट खर्च गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले बिहीबार नेपालगन्जमा आयोजना गरेको अर्धवार्षिक समीक्षा तथा तथ्याङ्क साक्षरता कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका योजना महाशाखा प्रमुख तेजेन्द्र रोकायले चालु आवको साउनदेखि माघ २७ गतेसम्मको अवधिमा १० दशमलव ४३ प्रतिशत पुँजीगत बजेट खर्च भएको जानकारी दिनुभयो । 

उहाँका अनुसार चालु आवका लागि पुँजीगततर्फ ६१ करोड ५६ लाख ८५ हजार ४५ रुपियाँ विनियोजन गरिएकोमा हालसम्म ६ करोड ४१ लख ८८ हजार ६५४ रुपियाँ मात्र खर्च भएको हो ।

त्यसैगरी चालु बजेटतर्फ एक अर्ब २० करोड २२ लाख २३ हजार ४५० रुपियाँ विनियोजितमध्ये हालसम्म ४७ करोड ७९ लाख ४१ हजार १५९ रुपियाँ अर्थात् ३९ दशमलव ८४ प्रतिशत बजेत खर्च भएको छ ।

वित्तीय व्यवस्थातर्फ एक करोड रुपियाँ विनियोजित बजेटमध्ये ४९ लाख ५० हजार ८८० रुपियाँ खर्च भएको उहाँले जानकारी दिनुभयो । जुन खर्च ४९ दशमलव ५१ प्रतिशत हुन आउँछ ।

उपमहानगरले चालु आवका लागि एक अर्ब ८२ करोड ७९ लाख आठ हजार ४९५ रुपियाँको बजेट विनियोजन गरेको थियो । जसमध्ये हालसम्म ५४ करोड ८० लाख ८० हजार ६९४ रुपियाँ खर्च भएको छ । जुन कुल विनियोजित रकमको २९ दशमलव ९८ प्रतिशत हो ।

उहाँले नेपालगन्जका २३ वटै वडा कार्यालयबाट भएका वडागत बजेट र खर्च पनि प्रस्तुत गर्नुभएको थियो । २३ वटै वडालाई विनियोजित गरिएको रकम १९ करोड तीन लाख २६ हजार ६५० रुपियाँमध्ये वडाहरूले हालसम्म तीन करोड ११ लाख ४१ हजार ८०९ रुपियाँ खर्च गरेका जानकारी दिनुभयो । जुन कुल रकमको १६ दशमलव ६३ प्रतिशत हुन आउँछ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले कर्मचारीलाई जनप्रतिनिधिको साथ र सहयोग लिएर द्रुतगतिमा काम गर्न निर्देशन दिनुभएको थियो । उहाँले काम गर्ने दौरानमा जहाँ समस्या र अप्ठ्यारा आउँछन् त्यहाँ जनप्रतिनिधिसँग समन्वय गरेर अगाडि बढ्न सुझाव दिनुभयो । उहाँले अर्धवार्षिक समीक्षामा विगतका कामको मूल्याङ्कन गर्दै आगामी दिनको योजनालाई केही परिमार्जित गरेर कार्यान्वयन गरिने उल्लेख गर्नुभयो ।

कामको गति बढिरहेको भए पनि यसलाई अझै तीव्र रूपमा अगाडि बढाउनुपर्ने भन्दै उहाँले कुनै गल्तीबिना काम गर्न पनि कर्मचारीलाई सुझाव दिनुभयो । उहाँले सशर्त कार्यक्रमहरू कुनै पनि हालतमा फिर्ता गर्न नहुने भन्दै फिर्ता भएमा कर्मचारीकै कमजोरी ठहरिने उल्लेख गर्नुभयो । 

स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले स्वास्थ्यसँग सम्बन्धित प्रस्तुतीकरण गर्नुभएको कार्यक्रममा सम्पूर्ण वडाका वडाध्यक्षहरू तथा विभिन्न महाशाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो । 

कार्यक्रममा कर्मचारी तथा जनप्रतिनिधिलाई तथ्याङ्कसम्बन्धी जानकारी दिन “आधिकारिक तथ्याङ्क, पारदर्शी शासन” विषयमा तथ्याङ्कीय साक्षरता प्रदान गरिएको छ । तथ्याङ्क समन्वय कार्यालय दाङका तथ्याङ्क समन्वय अधिकारी पोमनारायण पौडेलले सहजीकरण गर्नुभएको थियो ।