प्रवीणकुमार शर्मा
रौतहट, माघ २९ गते। जंगलसहिया सब–डिभिजन वन कार्यालय रौतहट र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले अवैध रूपमा ओसारपसार भइरहेको साल जातको काठ बरामद गरेको छ।
जंगलसहिया सब–डिभिजन वन कार्यालयका प्रमुख विनोद जेठाराको नेतृत्वमा खटिएको टोलीले बुधबार राति करिब ९ः३० बजे काठ बरामद गरेको हो। अवैध रूपमा ढुवानी भइरहेको अवस्थामा साल जातका दुई थान गोलिया काठ, भारतीय नम्बर प्लेटको एउटा सुमो गाडी र नेपाली नम्बर प्लेटको एउटा मोटरसाइकल बरामद गरिएको प्रमुख जेठाराले जानकारी दिनुभयो।
बरामद काठ, सुमो र मोटरसाइकल डिभिजन वन कार्यालय रौतहटको घाटगद्दीमा राखिएको छ। काठको नापजाँच तथा अन्य अनुसन्धान प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो।
नियमित गस्तीका क्रममा जंगलसहिया साझेदारी वनअन्तर्गत बागमती नहर नजिक संयुक्त टोली पुग्दा सुमोमा लोड गरिएको काठ र मोटरसाइकल छाडेर तस्करीमा संलग्न व्यक्ति फरार भएको बताइएको छ।
निर्वाचनको समयमा वन क्षेत्रमा साल काठको अवैध तस्करी बढ्ने भएकाले सशस्त्र प्रहरीसहितको संयुक्त गस्ती टोली परिचालन गरिएको कार्यालयले जनाएको छ।