• २९ माघ २०८२, बिहिबार

छ महिनामा बने दस वटा पक्की पुल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २९ गते । सङ्घीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहत छ महिनामा १६८ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा चार वा सोभन्दा बढी लेनका आठ किलोमिटर र दुई लेनका १६४ किलोमिटर कालोपत्रे सम्पन्न भएको हो । त्यसै गरी सो अवधिमा १० वटा पुलको समेत निर्माण सम्पन्न भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहसचिव सुशीलबाबु ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस अवधिमा हुलाकी राजमार्ग अन्तर्गत २६.५ किलोमिटर, पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत ११ किलोमिटर, उत्तर दक्षिण सडक आयोजना अन्तर्गत १० किलोमिटर, मदन भण्डारी राजमार्ग अन्तर्गत ६.६ किलोमिटर, पूर्वपश्चिम राजमार्ग अन्तर्गत पाँच किलोमिटर, सडक सुधार आयोजना अन्तर्गत पाँच किलोमिटर सडक कालोपत्रे गरिएको हो । त्यसै गरी यस अवधिमा ३५ किलोमिटर सडक ग्राभेल, ३० किलोमिटर सडकको नयाँ ट्र्याक खोलिएको छ भने १५ किलोमिटर सडक मर्मतसम्भार गरिएको सहसचिव ढकालले जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिमा सङ्घीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत चार लेन र दुई लेन गरी कुल ७५ किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्नुका साथै २० वटा पुलको निर्माण सम्पन्न भएको थियो ।